जमुना न्युरे/कैलालीको संरक्षित वनक्षेत्र बसन्ता पछिल्लो समय अतिक्रमण र चोरी सिकारीको चपेटामा परेको छ । सरकारले संरक्षित क्षेत्र घोषणा गरे पनि विस्तारै यस क्षेत्रमा घर टहरा सदैछन् । वन्यजन्तु र वन चोरीसिकारीको निसानामा पर्दैछन् ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा अमरावती सामुदायिक वन क्षेत्र भित्र दुईवटा पाटेबाघ मृत भेटिएका थिए । त्यसको केही समय पछि यसै क्षेत्रमा एउटा बाघ र एउटा चितुवा पनि मृत फेला परे । यस्तै भजनी नगरपालिका –२ को वनदेवी सामुदायिक वनमा एउटा चितुवा पासोमा परेर मरेको थियो । यी सामुदायिक वन यसै संरक्षण क्षेत्र भित्र पर्छन् । यी घटनाले तस्करी बढेको पुष्टि गर्छ भने, २०६४ सालमा मोहना नदीको बाढीले बसन्ता वन क्षेत्रमा अत्यधिक क्षति पुर्याएपछि त्यहीँ फैलिएका घर टहराले अतिक्रमण बढेको देखाउँछ ।
बसन्ता संरक्षित क्षेत्र कैलाली जिल्लाकै ठूलो जैविक मार्ग हो । ८३ हजार चार सय ३८ दशमलव ९ हेक्टरमा फैलिएको यो भारतको दुदुवा नेशनल पार्क र कतर्निया घाटसँग जोडिएको छ । यस वनलाई थारु समुदायले ‘बर्का वनवा’का रूपमा चिनिन्छ । संकटापन्न वन्यजन्तुको प्रमुख वासस्थानका रूपमा परिचित उक्त क्षेत्रमा तस्करी बढ्दा वन्यजन्तु त्यहाँबाट लोप होलान्कि भन्ने चिन्नता संरक्षणकर्मी बिच सुरु भएको छ ।
यो क्षेत्र वनजन्तु वस्न र ताल तलैयाका दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । चुरे क्षेत्रहुँदै भावरदेखि तराइको फाँटसम्म फैलिएकाले यहाँ वन्यजन्तु वस्न पनि मौसम अनुकुल छ । वनको औसत लम्बाई (उत्तर–दक्षिण) ३४ वर्गकिलोमिटर तथा चौडाइ (पूर्व–पश्चिम) २५ वर्गकिलोमिटर छ । तर, पछिल्लो समय अतिक्रमणले वन क्षेत्र घट्दै छ । यो क्षेत्रलाई नेपाल सरकारले सन् २०११ मा संरक्षित क्षेत्र घोषणा गरेको हो ।
२०६४ सालमा आएको मोहनाको बाढीले कैलालीको साविकका रामपुर, हसुलिया, रतनपुर र लालबोझी गाविसका विभिन्न गाउँहरू प्रभावित बनेका थिए । रामपुर, रतनपुर, विलासपुर, भुइँयाफाँटा गाउँ बाढीबाट प्रभावित भएपछि यहाँका वासिन्दा विस्थापित भए । अहिले ती विस्थापित बासिन्दाले बसन्ता क्षेत्रलाई अतिक्रमण गरेका छन् । बाढीबाट विस्थापित सबै यही क्षेत्रलाई कब्जा गरी बस्दै आएका छन् । उक्त क्षेत्रमा करिब एक हजार पाँच सय घरटहरा अतिक्रमण गरी बनाएएको पाइएको सब डिभिजन वन कार्यालय बसन्ताका प्रमुख श्यामसुन्दर माझी बताउँछन् ।
भजनी नगरपालिका – ७ लालबोझीमा रहेको पुरैना ताल २०६७ सालमा मोहना नदीमा आएको बाढीले बगरमा परिणत गरेको थियो । उक्त क्षेत्रमा स्थानीयले अतिक्रमण गरे । अहिले त्यहाँ तालको कुनै संकेत पनि छैन । सो क्षेत्रमा स्थानीयले धान र गहुँ लगायतका बाली लगाउने गरेका छन् । यसबाट वन्यजन्तुलाई प्रत्यक्ष असर पुगेको देखिन्छ । हाल ती वन्यजन्तु भारतीय वन क्षेत्रमा बसाइ सरेको प्रमुख माझी बताउँछन् ।
संरक्षणकर्मी विजयराज श्रेष्ठका अनुसार विगतमा दुधुवा नेशनल पार्कसँग जोडिएको वन क्षेत्र हुँदै वन्यजन्तु कतर्निया, बर्दिया, कर्णाली नदीको किनार भएर चुरेभावर हुँदै पुनः बसन्ता वन क्षेत्र तथा शुक्लाफाँटासम्म ओहोरदोहोर गर्थे । अहिले उक्त जैविक मार्ग अहिले वन अतिक्रमणकारीका कारण मासिएको छ ।
बसन्ता संरक्षण क्षेत्रमा वन जंगल नजिक बस्ती भएका कारण वन्यजन्तु मारिनुका साथै चोरीपैठारी समेत बढ्दै गएको छ । यहाँ हरेक वर्ष पाटेबाघ विचरण गर्न तथा आफ्ना डमरु हुर्काउनका लागि बसन्ता संरक्षित वनमा आउने गरेका छन् । वन्यजन्तुको चहलपहल बढ्न थालेपछि स्थानीवासी तथा तस्करको यहाँ बिगबिगी बढेको संरक्षणकर्मी श्रेष्ठ बताउँछन् । स्थानीय तथा चोरीशिकारी गर्नेहरूले राखेको पासोमा परेर बर्सेनी पाटेबाघ, चितुवालगायत वन्यजन्तु मर्ने गरेका छन् ।
यता वर्सेनि जंगल नजिक वस्ती बस्ने क्रम बढ्दै गएको छ । स्थानीयले घरपालुवा जनावर र आफ्नो सुरक्षाका लागि तथा मासुका लागि पासो थाप्ने गरेका छन् । बाघ र चितुवा मार्ने उद्देश्य नभएर पनि ती ठुला जनावर मर्ने क्रम बढ्दो क्रममा छन् । पहिलाका तुलनामा अहिले पासोमा परेर चितुवा र बाघ मर्ने क्रम बढेको वन्यजन्तु संरक्षणकर्मी प्रकाश लम्सालले बताए । अहिले जंगलको नजिक मानव बस्ती बसाउने क्रम बढ्दै गएको छ । जसका कारण संरक्षित क्षेत्रमै पनि वन्यजन्तु असुरक्षित छन् ।
यस क्षेत्र मृत अवस्थामा फेला परेको बाघको घाँटीमा मोटरसाइकलको ब्रेकको तार भेटिएको थियो । बाघको घाँटीमा पासो परेको र तारले घाँटी कस्सिएर मृत्यु भएको पाइएको डिभिजन वन कार्यलय पहलमानपुरका डिभिजन वन अधिकृत राम विचारी ठाकुरले बताए । यसले वन क्षेत्रमा चोरी तस्करी बढेको पुष्टि हुने ठाकुरको कथन छ ।
अमरावती सामुदायिक वनको जस्तै एक वर्ष पहिला टीकापुर नगरपालिका – २ स्थित जनशक्ति सामुदायियक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो । त्यो बाघको घाँटीमा तारको पासो लगाइएको पाइएको थियो । एक वर्षको अन्तरालमा कैलालीमा विश्वमै लोपोन्मुख प्रजातिका रूपमा रहेका दुई पाटेबाघ मृत भेटिएका थिए । पाटेबाघ मात्र होइन त्यो भन्दा अत्यधिक संख्यामा चितुवा पासोमा परेर मरिरहेका पाइएको छ ।
गत वर्षको पौष ११ गते कैलालीको गोदावरी नगरपालिका १० स्थित रातोपानी सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवालाई बचाउन सकियो । कैलालीमा पछिल्लो केही वर्षयता जंगली जनावर बँदेल, बाँदर, घोरल, चित्तललगायत जनावर मानिसले थापेको पासोमा परेर मर्ने गरेका छन् । यसैगरी जंगली जनावरका लागि विद्युतीय धराप थाप्ने गरिएको छ । गत माघ महिनामा यसरी विद्युतीय धराप थाप्ने क्रममा घोडाघोडी नगरपालिका – ९ रतीपुरका ४२ वष वर्षिय धनबहादुर शाहले ज्यान गुमाएको डिभिजन वन कार्यालय पहलमानपुरको तथ्यांकमा उल्लेख छ ।
अनि पासोमा पर्छन् वन्यजन्तु: तस्करहरूले पाटेबाघ, चितुवालगायत जनावर मार्ने उद्देश्यले पासो थापेको संरक्षणकर्मीहरू बताउँछन् । अन्य साना जनावरका लागि थापेको पासोमा परी बाघ मरेको हुनसक्ने सरक्षणंकर्मी तिलक ढकालले बताए । ढकालका अनुसार मोटरसाइकलको ब्रेकको तारलाई पासो बनाइएको पाइएको छ । त्यो पासो मासुजन्य वन्यजन्तुका लागि मात्र थाप्ने गरिएको बताए । उनका अनुसार बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तु बिचको द्धन्दको कारण पनि भएको पाइएको छ ।
संरक्षणकर्मी तथा तराइ भू–परिधि कार्यक्रम कोहलपुरका व्यस्थापक कमलबहादुर राईले प्रतिशोध र सिकारका लागि राखेको पासोमा ठूला जनावर परिरहेको बताए । समयमा चेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवा जस्ता ठूला जनावर पनि मर्ने क्रम बढीरहेको डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताए । पछिल्लो समय वन्यजन्तुका लागि पासो एकदमै जोखिम बन्दै गएको पाइएको उनको भनाई छ । ‘करेन्ट, तार लगायतको पासो थाप्ने क्रम बढ्दै गएको छ । तस्करले तथा स्थानीयले बँदेल, चित्तललगायत मासुजन्य वन्यजन्तुका लागि पासो थाप्ने गरेका छन्् । त्यही पासोमा बाघ र चितुवा परिरहेका छन्,’ वन अधिकृत कँडेलले भने । उनी थप्छन्, ‘यसरी पासो थाप्नु गैरकानुनी कार्य हो । यस्ता गतिविधि गर्नेलाई कारबाही गर्दैआएका छौं ।’
लोपोन्मुख प्रजातिको वन्यजन्तुको व्यापार नियन्त्रण सम्बन्धी र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार पाटेबाघ लगायत लोपोन्मुख प्रजातिको कारोबार वा व्यापार गर्न पाइँदैन । पाटेबाघको सिकार गरेमा ५ लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यस्तै चितुवाको सिकार गरेमा २० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना वा ६ महिना देखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा उल्लेख छ ।
हुलाकी राजमार्गले वन्यजन्तु ओहोरदोहोरमा असर: नेपाल सरकारले निर्माण गरेको पूर्व–पश्चिम राजमार्ग सम्मको हुलाकी सडक बसन्ता वनको बिच भाग भएर निर्माण भएको छ । यहाँ वन्यजन्तु ओहोरदोहोर गर्न अन्डर पास र ओभरपासको प्रावधान भए पनि बसन्ता वनक्षेत्र भित्र वन्यजन्तुको सहजतका लागी वातावरण मैत्री केही संरचना निर्माण गरिएका छैनन् । यो सडक भएर चोरिसिकारी गर्न तथा वन अतिक्रमण गर्न झन सहज भएको देखिएको संरक्षणकर्मी बताउँछन् ।
डिभिजन वन कार्यालय पहलमानपुर र डिभिजन बन कार्यालय धनगढीले वन्यजन्तु चोरिसिकारी, अखेटोपहार सम्बन्धी तीन वटा मुद्दा समेत चलाएको छ । सरकारी निकायले पनि अहिले बाघ लगायतका लोपोन्मुख अवस्थामा पुगेका वन्यजन्तुको संरक्षण गर्न पहल गर्दै आएको छ । समुदायमा जनचेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवा जस्ता ठुला जनावरहरू पनि पासोमा परेर मर्ने क्रम बढ्दै गएको छ । यसलाई रोक्न जरुरी रहेको संरक्षणकर्मी तथा तराइ भू–परिधि कार्यक्रम कोहलपुरका व्यस्थापक कमलबहादुर राई बताउँछन् ।