विद्युत् र सञ्चार सेवामा सुधार तथा विस्तारका योजना तत्काल अघि बढाउन मुख्यमन्त्री भट्टको निर्देशन

शेयेर गर्नुहोस


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा विद्युत् तथा सञ्चार सेवासँग सम्बन्धित समस्या समाधान गर्दै सेवा प्रवाहमा सुधार र सेवा विस्तारका योजनालाई तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ।


नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय, नेपाल दूरसञ्चार संस्थानको क्षेत्रीय कार्यालय तथा एनसेलको प्रदेशस्तरीय कार्यालयका कर्मचारीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री भट्टले नागरिकका गुनासालाई सम्बोधन गरी आगामी दिनमा जनगुनासो नआउने गरी जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभएको हो।


मुख्यमन्त्री भट्टले विद्युत् तथा सञ्चार सेवाको गुणस्तर सुधारसँगै सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ। नागरिकले सहज र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायले तत्काल सुधारका योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ रहेको  थियोे ।


विद्युत् सेवातर्फ ट्रान्सफर्मर उपलब्ध नहुने, कम भोल्टेजका कारण डिम लाइटको समस्या रहने तथा दुर्गम क्षेत्रमा विद्युत् लाइन विस्तार हुन नसकेको जस्ता गुनासा आउने गरेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले यस्ता समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ।


त्यसैगरी, दूरसञ्चार सेवातर्फ अप्टिकल फाइबरको विस्तार, सञ्चार सेवाको गुणस्तर सुधार तथा दुर्गम क्षेत्रमा पहुँच विस्तारमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभएको छ। सेवा विस्तार हुन नसकेका र सञ्चार सुविधाको अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अघि बढाउनुपर्नेमा उहाँको जोड थियो।


प्रदेशका नागरिकलाई विद्युत् तथा सञ्चार सेवाबाट वञ्चित हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सेवा प्रवाहमा देखिएका समस्या समाधान र आगामी दिनमा सेवा विस्तारका योजनालाई सँगसँगै अघि बढाउन निर्देशन दिनुभएको छ।

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !