घोडाघोडी तालमा मिचाहा प्रजातिको बढ्दो प्रभाव, हराउँदै सूचक प्रजाति जंगली धान

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/घोडाघोडी ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा परिचित छ ।

कैलाली जिल्लाको मध्यभागमा अवस्थित यो सिमसार क्षेत्र विश्व रामसार सूचीमा सूचीकृत हुनुका साथै जैविक विविधताको दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । तर पछिल्ला वर्षहरूमा मिचाहा प्रजाति “बेसरम” को तीव्र विस्तारले घोडाघोडी तालको पारिस्थितिक प्रणाली नै सङ्कटमा पर्न थालेको छ ।

तालको उत्तरतर्फ, बीचको चटिया, छिट्लिया, बड्कासिराहा र टेडी क्षेत्रमा पाइने सूचक प्रजाति जंगली धान ओराइजा रुफिपोगन (Oryza rufipogon) विस्तारै लोप हुने अवस्थामा पुगेको छ । विश्व रामसार सूचीमा सूचीकृत हुँदा घोडाघोडी तालका प्रमुख सूचक प्रजातिका रूपमा जंगली धान ओराइजा रुफिपोगन, ओराइजा एसपिएस, मगर गोही र हरिहाँसलाई समावेश गरिएको थियो । एक समय करिब तीन हेक्टर क्षेत्रमा फैलिएको जंगली धान अहिले मिचाहा प्रजाति बेसरमले ढाकिँदै गएको छ ।

सिमसार विज्ञ टोप खत्रीका अनुसार सूचक प्रजातिको अवस्थाले सिमसारको समग्र स्वास्थ्य र पारिस्थितिक प्रणालीबारे जानकारी दिन्छ । “घोडाघोडी तालमा पाइने जंगली धानले जैविक विविधता, वनस्पति विविधता, खाद्य शृङ्खला र सिमसारको पानी तथा वातावरणीय अवस्थाबारे प्रत्यक्ष संकेत गर्छ,” उनले भने ।

उनका अनुसार जंगली धान नष्ट हुँदै जाँदा चराचुरुङ्गी र जलचरको बासस्थान घट्ने, खाद्य शृङ्खला कमजोर हुने तथा जैविक विविधतामा प्रत्यक्ष असर पर्ने खतरा बढेको छ । जंगली धानले हाँस, सारस, जलचर चरा, माछा र कीरालाई आश्रय तथा आहार उपलब्ध गराउने भएकाले यसको लोपले ती प्रजातिहरूको अस्तित्वमा समेत असर पुग्न सक्छ ।

यसका साथै जंगली धानका जराले माटो समातेर राख्ने भएकाले यसको अभावमा किनार कटान बढ्ने, तालमा हिलो जम्ने र पानीको गुणस्तर बिग्रिने समस्या देखिन सक्ने विज्ञहरू बताउँछन् । धेरै माछाका भुरा जंगली घाँस तथा धान भएको क्षेत्रमा हुर्कने भएकाले वनस्पति नष्ट हुँदा माछाको प्रजनन र उत्पादनमा समेत असर पर्ने देखिएको छ ।

सिमसार वनस्पतिले पानी सञ्चय, आर्द्रता सन्तुलन र कार्बन अवशोषणमा योगदान पुर्‍याउने भएकाले जंगली धान घट्दा तालको प्राकृतिक सन्तुलनमा समेत नकारात्मक प्रभाव पर्न सक्छ । स्थानीय समुदायको जीविकोपार्जन, विशेषगरी माछा मार्ने, पशुचौपाया चराउने र पर्यावरणीय पर्यटनमा निर्भर परिवारहरू पनि यसबाट प्रभावित हुन थालेका छन् ।

दुई हजार ५६३ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसारभित्र घोडाघोडी, नकरोडलगायत २४ वटा ताल रहेका छन्, जसले १४७ हेक्टर भूभाग ओगटेका छन् । चुरे र तराई भूभागको सङ्गमस्थलमा अवस्थित यो क्षेत्र जैविक मार्गका रूपमा समेत महत्त्वपूर्ण मानिन्छ । यहाँ ६४७ प्रजातिका वनस्पति, ३८१ प्रजातिका चरा, ३९ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी तथा विभिन्न घस्रिने जनावर र पुतली पाइन्छन् ।

घोडाघोडी क्षेत्र दुर्लभ तथा संकटापन्न चराचुरुङ्गीहरूको सुरक्षित बासस्थानका रूपमा पनि परिचित छ । यहाँ राजलाहाँचे, राजधनेस, सेतो गिद्ध, डँगर गिद्ध, हरिहाँसलगायत विश्वव्यापी रूपमा संकटमा रहेका प्रजाति पाइन्छन् । हरिहाँस, नाँदुन हाँस र बगाले सिमकुखुरा जस्ता चराले यस क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको चरा सरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए । यही महत्वका कारण २०७८ फागुन २७ गते घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘वर्ड सेन्चुरी’ अर्थात् चरा अभयारण्य क्षेत्र घोषणा गरिएको थियो ।

तर पछिल्ला वर्षहरूमा बढ्दो मानव चाप, अव्यवस्थित पर्यटन, धार्मिक गतिविधि, सजावटका लागि प्रयोग गरिएका रङ्गीबिरङ्गी कपडा, हाइटेन्सन लाइन तथा संरक्षणमा कमजोर व्यवस्थापनका कारण सिमसार क्षेत्र दबाबमा परेको छ ।

चराविद् तथा संरक्षणकर्मी डा. हेमसागर बरालका अनुसार अव्यवस्थित भौतिक संरचना र पर्यटन गतिविधिले घोडाघोडीको प्राकृतिक स्वरूप नै बिगार्दै लगेको छ । “योजनाविनाका संरचनाले सिमसारलाई कङ्क्रिट जङ्गलमा रूपान्तरण गर्ने खतरा बढेको छ,” उनले बताए ।

डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्यायले मिचाहा प्रजातिका वनस्पतिले सिमसारको जैविक विविधता र जलचर प्रणालीमा गम्भीर असर पारिरहेको बताए । उनका अनुसार यस्ता झारले पानीको सतह ढाक्दा सूर्यको प्रकाश तलसम्म पुग्न नसक्ने भएकाले पानीमा अक्सिजनको मात्रा घट्दै गएको छ, जसले जलचर प्रणालीलाई प्रत्यक्ष असर पुर्‍याइरहेको छ ।

सिमसार संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि घोडाघोडी नगरपालिकाले २०७४ पुस २६ गते ‘बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड’ गठन गरेको थियो । तत्कालीन नगरप्रमुख ममताप्रसाद चौधरीको पहलमा बनेको बोर्डले १० वर्षीय गुरुयोजना तयार गर्दै मिचाहा प्रजाति नियन्त्रण, जैविक विविधता संरक्षण, व्यवस्थित बोटिङ, पदमार्ग निर्माण तथा पर्यटकीय पूर्वाधार विकासका योजना अघि सारेको थियो ।

तर २०७९ को स्थानीय तह निर्वाचनपछि बोर्डले निरन्तरता पाउन सकेन । हालसम्म नयाँ समिति गठन गरिएको छैन । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्ग रावतले छुट्टै बोर्ड आवश्यक नरहेको बताउँदै नगरपालिकाकै बजेट र योजनाअनुसार पूर्वाधार निर्माणका काम भइरहेको जानकारी दिए ।

यद्यपि संरक्षणकर्मीहरूले भने रामसार क्षेत्रको संवेदनशीलतालाई बेवास्ता गर्दै संरचना निर्माण र ठेक्का प्रक्रिया अघि बढाइएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार संरक्षणभन्दा विकास निर्माणलाई प्राथमिकता दिँदा घोडाघोडी सिमसारको मौलिक स्वरूप र जैविक अस्तित्व नै जोखिममा पर्न थालेको छ ।

ताजा खबर

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

Roulette Online India VIP: A Complete Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जमुना न्युरे,धनगढी/गौरीगंगा ग्रामीण विद्युत सहकारी संस्था समन्वय समिति चौमाला,कैलालीले बिजया दसमी,सुभदिपावली तथा छठ पर्ब-२०८० को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। चौमालामा एक

अझै पढ्नुहोस्