जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका हुन ।

कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धि मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म उप-महानगरपालिकामा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रम अनुसार काम गरिरहेकाे पत्रमा उल्लेख छ ।

समायाेजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएकाे उनीहरूकाे भनाई छ ।

स्पष्ट उल्लेख भएको कुरालाई तोड मोड गरि समायोजन मिलान भएका कर्मचारीहरुलाई पनि फिर्ता गराउने तथा हतोत्साही गराई अधैर्यताका साथ कर्मचारीहरुलाई सोच्ने समय समेत नदिईएकाे उनीहरू बताउछन् ।

श्रावण महिनाको पहिलो हप्ताभित्र कार्य सम्पादन मुल्यांकन फाराम भर्ने अवसरबाट समेत बन्चित गराउने मनशायबाट कार्यालयले दौडाहा टोली खटाइ कर्मचारीको हाजिरी रजिष्टरमा रातो मसिले धर्का तान्ने कार्य गरेकाे पत्रमा उल्लेख छ ।