१६ कार्तिक, सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्ने विषयमा घोडाघोडी नगरपालिकासँग छलफल गरेको छ ।

आइतबार उद्योग वाणिज्य सङ्घको कार्यालयमा भएको छलफलमा नगर प्रमुख खडक बहादुर रावत, निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेश राज रेग्मी र वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझासँग महोत्सव आयोजना गर्ने विषयमा छलफल गरिएको हो ।
छलफलका क्रममा नगर प्रमुख खडक बहादुर रावतले नयाँ नेतृत्व आएपछि महोत्सव आयोजना गर्ने र त्यसपछि निरन्तरता नदिने प्रवृत्ति देखिएको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उनले विगतका महोत्सवमा भएका कमीकमजोरी नदोहोर्याउन उद्योग वाणिज्य सङ्घलाई सुझाव दिँदै महोत्सवलाई निरन्तरता दिनुपर्ने बताए । महोत्सव सफल बनाउन नगरपालिकाको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
त्यस्तै, वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझाले स्पष्ट उद्देश्यसहित महोत्सव सञ्चालन गर्नुपर्ने बताए । उनले महोत्सवलाई केवल मनोरञ्जनमा सीमित नराखी सम्पूर्ण घोडाघोडीवासीले अपनत्व महसुस गर्ने गरी आवश्यक तयारीका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।
अन्य महोत्सव भन्दा फरक र विशिष्ट पहिचान सहित महोत्सव आयोजना गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय कला, संस्कृति, भेष भूषा, पहिचान, कृषि उत्पादन, स्थानीय व्यापार तथा घरेलु उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताए । साथै, घोडाघोडी क्षेत्रका पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा समेत महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
घोडाघोडी उद्योग वाणिज्य सङ्घका सल्लाहकार संयोजक मनराज शाहीले विगतमा सञ्चालन भएका मेला भन्दा फरक, रचनात्मक र परिणाममुखी हुने गरी महोत्सव सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले महोत्सवमा अमर्यादित तथा उच्छृङ्खल गतिविधिलाई निरुत्साहित गर्नुपर्ने बताए ।
घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्र प्रसाद आचार्यले विगतका महोत्सवमा भएका कमीकमजोरीलाई आत्मसात् गर्दै आगामी महोत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने बताए । उनले आफ्नो नेतृत्वले महोत्सव सञ्चालनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै महोत्सव सफल बनाउन सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
अन्य स्थानमा आयोजना हुने महोत्सवसँग मिति नजुध्ने गरी महोत्सव सञ्चालनको मिति छिट्टै सार्वजनिक गरिने उनले जानकारी दिए । घोडाघोडी नगरपालिका महोत्सवको अभिभावक संस्था भएकाले नगरपालिकाको साथ, सहयोग र समन्वयमा महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्ने उनको भनाइ थियो ।
छलफलमा सहभागीहरूले विगतका मेलाभन्दा फरक, रचनात्मक र परिणाममुखी हुने गरी महोत्सव सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । महोत्सव आयोजना गर्नु सामान्य विषय नभएकाले गम्भीरतापूर्वक तयारी गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
महोत्सव सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै सहभागीहरूले यसलाई जिम्मेवारीपूर्वक सम्पन्न गरी सबैको मन जित्न सक्ने खालको महोत्सव बनाउन सुझाव दिएका थिए ।






