धनगढी/कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह “मनु” ले सुशासनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनावी अभियान अन्तर्गत विभिन्न स्थानमा आयोजित भेटघाट, घरदैलो तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पारदर्शी, जवाफदेही र जनमुखी शासन व्यवस्था स्थापना गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका हुन् ।

मतदातासँग प्रत्यक्ष संवाद गर्दै शाहले विकासको आधार नै सुशासन भएको उल्लेख गरे । विगतमा धेरै योजना घोषणा भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा जनताले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनले बताए ।
उनले जनताले सहज रूपमा सेवा पाउने वातावरण बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सुशासन नै मेरो पहिलो प्राथमिकता हो । जनताको विश्वास जित्ने सबैभन्दा ठूलो आधार पारदर्शिता र इमान्दारिता हो । म जनताले अनुभूति गर्ने खालको काम गर्न चाहन्छु ।”

शाहले निर्वाचित भएपछि विकास निर्माणका योजनालाई पारदर्शी ढंगले अघि बढाउने, सार्वजनिक सेवामा हुने ढिलासुस्ती हटाउने र जनताको गुनासो सुन्ने प्रभावकारी संयन्त्र बनाउने बताए । उनले स्थानीय आवश्यकताका आधारमा योजना सञ्चालन गर्ने र जनताको प्रत्यक्ष सहभागितामा निर्णय प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । चुनावी अभियानका क्रममा शाह घरदैलो कार्यक्रम मार्फत मतदातासँग निरन्तर भेटघाट गरिरहेका छन् ।

विभिन्न टोल र बस्तीमा पुगेका उनलाई स्थानीय बासिन्दाले स्वागत गर्दै आफ्ना समस्या र अपेक्षाहरू राख्ने गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का स्थानीय मतदाता रामबहादुर बोहराले शाह लामो समयदेखि समाजसेवामा सक्रिय व्यक्ति भएको उल्लेख गर्दै भने, “मनुजीलाई हामीले खेलकुददेखि सामाजिक क्षेत्रमा काम गरेको देखेका छौं ।
उहाँ इमान्दार र हुनुहुन्छ । सुशासनको कुरा गर्नुभन्दा पनि लागू गर्न सक्ने व्यक्ति उहाँ नै हो भन्ने विश्वास लागेको छ ।” त्यस्तै स्थानीय महिला मतदाता लक्ष्मी देवी चौधरीले विकाससँगै पारदर्शिताको आवश्यकता रहेको बताउँदै भनिन्, “हामीलाई ठूलो कुरा होइन, काम गर्ने नेता चाहिएको हो ।
मनुजीले सुशासनलाई प्राथमिकता दिन्छु भन्नुभएको छ, त्यसले हामीलाई आशा दिएको छ ।” युवा मतदाता सन्तोष रानाले नयाँ सोच र स्पष्ट योजना भएका उम्मेदवारको आवश्यकता रहेको बताउँदै भने, “हामी युवाहरूलाई अवसर चाहिएको छ । मनु दाईले पारदर्शिता र सुशासनको कुरा गर्नुभएको छ, यसले भविष्यमा राम्रो परिवर्तन आउँला भन्ने लागेको छ।”
मतदातासँगको भेटघाटका क्रममा शाहले आफू कुनै पदका लागि मात्र नभई जनताको सेवाका लागि उम्मेदवार बनेको बताए । उनले जनताको विश्वास र साथ पाए कैलाली क्षेत्र नम्बर ५ लाई सुशासन र विकासको नमुना क्षेत्र बनाउने लक्ष्य रहेको उल्लेख गरे । लामो समयदेखि खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका शाह जनतामाझ सरल र सहज रूपमा प्रस्तुत हुने नेताका रूपमा चिनिन्छन् ।
स्थानीयहरूका अनुसार उनी जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने व्यक्तित्व भएकाले यस पटकको निर्वाचनमा मतदाताको ध्यान तानेका छन् । शाहले जनताको विश्वासलाई सम्मान गर्दै इमान्दार र जिम्मेवार नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “जनताको भरोसा नै मेरो शक्ति हो, सुशासन नै मेरो पहिलो प्राथमिकता हो,” उनले भने ।








