जमुना न्युरे,धनगढी / गाउँघरमा खेर गइरहेको बाँसको व्यावसायिक उपयोगमार्फत हरित आर्थिक वृद्धि, रोजगारी सिर्जना र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकिनेमा सरोकारवालाले जोड दिएका छन्।

हरित आर्थिक वृद्धि तथा जलवायु कार्यका लागि बाँस उद्योगको प्रभावकारी उपयोगसम्बन्धी प्रदेशस्तरीय सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको हो। कार्यक्रममा बाँसलाई वातावरणमैत्री तथा नवीकरणीय स्रोतका रूपमा उपयोग गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र आयआर्जन बढाउन सकिने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा बाँस विज्ञ डा. छोटेलाल चौधरी, कृषि ,वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. राजेन्द्र केसी तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहलका सहसचिव डा. रविन्द्र महर्जनले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यपत्र प्रस्तुत गर्दै वक्ताहरूले भविष्यमा देखापर्न सक्ने जलवायु परिवर्तनका असरलाई अनुकूलन गर्दै हरित अर्थतन्त्रबाट कसरी आयआर्जन गर्न सकिन्छ तथा गाउँघरमा खेर गइरहेको बाँसलाई उत्पादन र उद्योगसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए।
बाँसबाट फर्निचर, हस्तकला, निर्माण सामग्रीलगायत विभिन्न वस्तु उत्पादन गर्न सकिने भएकाले यसको व्यावसायिक उपयोग विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। बाँस खेतीले माटो संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत योगदान पुर्याउन सक्ने भएकाले बाँसलाई हरित अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्ने उनीहरूको भनाइ थियो।
अन्तरक्रियामा बाँस उत्पादन तथा उद्योग सञ्चालनका लागि आवश्यक नीति, प्रविधि, लगानी, दक्ष जनशक्ति, बजार व्यवस्थापन र निजी क्षेत्रसँगको सहकार्यका विषयमा समेत छलफल भएको थियो। स्थानीय तह, प्रदेश सरकार, निजी क्षेत्र तथा समुदायबीच समन्वय र सहकार्य बढाएर बाँसमा आधारित उद्यमलाई प्रवर्द्धन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सुदूरपश्चिम प्रदेशमा बाँसको उपलब्धता र सम्भावनाको अध्ययन गरी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापन र निर्यातको सम्भावना समेत बढाउन सकिने सहभागीहरूले बताएका थिए।
कार्यक्रममा सहभागीहरूले बाँस उद्योगलाई परम्परागत प्रयोगमा मात्र सीमित नराखी आधुनिक प्रविधि, सीप र बजारसँग जोडेर व्यावसायिक रूपमा विकास गर्नुपर्ने बताएका थिए। बाँसमा आधारित हरित उद्योगको विकासले आर्थिक समृद्धिसँगै वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउने उनीहरूको विश्वास थियो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले बाँसको उत्पादन र उपयोगलाई उद्योग तथा रोजगारीसँग जोड्न आवश्यक नीति र कार्यक्रममार्फत अघि बढ्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले गरेका थिए।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहलको सह–आयोजना तथा एसियाली विकास बैंकको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।






