प्रधानमन्त्री वालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसंग प्रधानमन्त्री शाहले छलफल गरेका हुन् ।

छलफलमा सांसदहरुले सुदूरपश्चिमका समस्या र स्थानीय मागबारे बालेनलाई जानकारी गराएका थिए । कैलाली– २ का प्रतिनिधिसभा सदस्य केपी खनालका अनुसार गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे अधिकांश सांसदले कुरा उठाएका थिए ।
खनालले भने, ‘आज सबै मान्यज्यूबाट गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि आवाज उठ्यो । त्यो आवाज छिट्टै पूरा हुने आशा लिएका छौं ।’
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई धनगढी विमानस्थलसंग जोड्ने विषयमा पनि छलफल भएको खनालले बताए । सेती लोकमार्गको निर्माणबारे पनि प्रधानमन्त्रीसंग छलफल भएको खनालले बताए ।
छलफलमा रास्वपाबाट निर्वाचित कोमल ज्ञवाली, केपी खनाल, जगतप्रसाद जोशी, खेमराज कोइराला, आनन्द चन्द, जनकसिंह धामी, ज्ञानेन्द्र महता, डा. तारा जोशी, हरिमोहन भण्डारी सहभागी थिए । यस्तै, कांग्रेसका सांसद जनकराज गिरी, भरतबहादुर खड्का, एमालेका ऐन महर, यज्ञ बोगटी लगायतको सहभागीता रहेको थियो ।










