छोटो अवधिको तालिममै लाखौँ असुल्दै इन्स्टिच्युट, विभिन्न प्रलोभनमा परेर ठगिए विद्यार्थी

शेयेर गर्नुहोस


धनगढी,7 भदौ । डोटीकी कल्पना बोहरा (नाम परिवर्तन) केही वर्षअघि पढाइको सिलसिलामा धनगढी आइन् । धनगढीस्थित रेडिकल एकेडेमीले देखाएको लोभकै कारण उनी धनगढी झरेकी हुन् ।

कल्पना रेडिकल एकेडेमीमा फेसन डिजाइनसँगै कक्षा ११/१२, कम्प्युटर र अंग्रेजी भाषा पढ्न पाइने आशमा धनगढी आएकी थिइन् । त्यतिमात्र होइन संस्थाका सञ्चालक प्रकाश छेडालले ५० प्रतिशत शुल्क छुट दिने लोभ समेत देखाएका थिए । त्यही प्रलोभनमा परेकी कल्पना रेडिकलमा भर्ना भइन् ।

तर, पछि वास्तविकता भने फरक निस्कियो । रेडिकल एकेडेमीले उनलाई फेसन डिजाइन त आफ्नै इन्स्टिच्युटमा पढायो, कक्षा ११/१२ का लागि त्रिनगर माध्यमिक विद्यालयमा भर्ना गराइदियो। सुरुमा फेसन डिजाइनसँगै ११/१२ मा जुनसुकै विषय पढ्न पाइन्छ भनेर वाचा गरेका छेडालले पछि त्रिनगरमा जबर्जस्ती शिक्षा संकाय पढ्न बाध्य बनाए । त्यो भने कल्पनाको रुचिको विषय थिएन। अन्ततः रेडिकलमा अध्ययनरत सबै विद्यार्थीलाई त्रिनगरमै भर्ना गराइएको थियो। यसैगरी विभिन्न ठाउँमा निःशुल्क शैक्षिक भ्रमण लैजाने पनि लालच देखाइएको थियो। तर, पछि फेरि पोखरा भ्रमणको नाममा विद्यार्थीहरुसँग प्रतिव्यक्ति शुल्क उठाइएको कल्पनाले बताइन्।

रेडिकल एकेडेमीले उनलाई केही घण्टाको सिटिइभिटीको कोर्स पढाइने भनेर दुई वर्ष अल्मल्याइयो। ४ सय ९० घण्टाको तालिमका नाममा १ लाख रुपैयाँ शुल्क असुलिएको थियो । तर, आशा गरे जस्तो ज्ञान, सीप र प्रमाणपत्र उनले त्यहाँबाट पाउन सकिनन्।

अहिले उनले न फेसन डिजाइनतर्फ रोजगारी पाइन् न त ११/१२ मा राम्रो नतिजा ल्याउन सकिन् । अहिले उनलाई घरपरिवारको दबाब एकातिर छ भने पढेर पनि केही गर्न नसकेको पछुतो अर्कोतिर छ । ‘रेडिकल एकेडेमीले दिएको प्रमाणपत्रले कतै रोजगारी पाइँदैन,’ उनले भनिन्, ‘रेडिकल एकेडेमीले मेरो भविष्य नै अन्धकार बनाइदियो।’ त्यत्रो लगानी गरेर पढाएका घरपरिवारले अहिले केही काम गर्न नसकेको भन्दै तनाव दिइ रहेको उनी बताउँछिन् । ‘घरपरिवारको तनाव एकातिर छ भने अर्कोतिर भविष्यको चिन्ता,’ उनले दुःखेसो पोखिन् ।

कल्पना जस्तै धनगढी उपमहानगरपालिका–१४, फूलबारीका सुवास खड्काको पनि यस्तै समस्या छ । रेडिकल एकेडेमीले देखाएको प्रलोभनमा परेर होटल म्यानेजमेन्ट कोर्षका लागि सुवास पनि त्यहीँ भर्ना भए । सञ्चालक छेडालले शत प्रतिशत रोजगारको ग्यारेन्टी, प्लस टु पढ्ने व्यवस्था, ६ महिना विदेशस्थित पाँचतारे होटलमा इन्टर्नशीप, कम्प्युटर तथा अंग्रेजी भाषा सिकाइने भन्दै प्रलोभन देखाए । त्यही प्रलोभनमा परेर उनी रेडिकल एकेडेमीमै भर्ना भएका हुन् । सुवासलाई पनि एकेडेमीमार्फत् ११/१२ कक्षा त्रिनगर माध्यमिक विद्यालयमा भर्ना गराइएको थियो भने होटल म्यानेजमेन्ट रेडिकलमै पढाइएको थियो ।

यस बापत सञ्चालक छेडालले उनीसँग १ लाख ८० हजार रुपैयाँ शुल्क समेत लिएका थिए । छेडालले सिटिइभिटीबाट तीन सय ९० घण्टाको होटल म्यानेजमेन्ट पढाउने भनेर अनुमति लिएका थिए । तर, उनले अवैध रुपमा ११/१२ त्रिनगर माध्यमिक विद्यालयमा भर्ना गराएर चर्को शुल्क असुले । तर, छेडालले देखाएको लोभ अनुसार उनले अहिले न रोजगारी पाए न त विदेशमा इन्टर्नशीप गर्ने मौका नै । अझैसम्म उनले होटल म्यानेजमेन्ट पढेको प्रमाणपत्र समेत पाएका छैनन्। उनी अहिले होटल म्यानेजमेन्ट पढेर काम नपाउँदा मानसिक तनावसमेत भोगिरहेका छन् भने अर्कातर्फ पैसा पनि नाश भएको छ ।

भर्ना गर्ने क्रममा रोजगारीको ग्यारेन्टी र विभिन्न सुविधा दिने आश्वासन पाए पछि सुवाासलाई रेडिकलमा भर्ना गरिएको लिला खड्काले बताइन् । उनले भनिन् ‘छोराले पढाइ सकेको तीन वर्ष भयो तर आजसम्म प्रमाणपत्रै पाएको छैन, रोजगारी त परको कुरा हो ।’ प्रमाणपत्र लिन जाँदा हरेकपटक ‘अहिले आएको छैन’ भनेर आलटाल गरेर फर्काइएको उनले बताइन् ।

यसैगरी फूलबारीकी सीता ओली पनि रेडिकल एकेडेमीले देखाएको प्रलोभनमा परेकी हुन्। सञ्चालक छेडालले देखाएको लोभमा परेर उनले फेसन डिजाइन पढ्न एकेडेमीमा भर्ना गरिन् । छेडालले उनलाई रोजगारी, सीप सिकाइ, कम्प्युटर र अंग्रेजी भाषा सिकाउने साथै ११/१२ पढाउने भन्दै भर्ना गराए । तर उनीले आफ्नो चाहनाअनुसार पढ्न पाइनन् । ११/१२ कक्षामा मानविकी संकाय पढ्ने इच्छा नहुँदा नहुँदै पनि त्रिनगर माध्यमिक विद्यालयमा जबरजस्ती भर्ना गरिएको उनले बताइन्। ‘न त फेसन डिजाइनमा राम्रो पढाइ भयो, न त सिकेको सीपले कुनै काम पाइयो,’ उनले गुनासो गर्दै भनिन्, ‘अहिले पढाइ बिग्रियो, पैसा र समय दुवै खेर गयो।’

रेडिकल एकेडेमीमा तालिम लिने प्रशिक्षार्थी मात्रै हैनन् छोटो अवधिको तालिमका लागि धनगढीमा खुलेका यस्ता तमामौ इन्सिच्यूटहरुले ठगी धन्दा मच्चाएका छन् । एसईई दिएपछि सुन्दर भविष्यको कल्पना गर्दै रामबहादुर (नाम परिवर्तन) धनगढीमा आए । कहाँ र के विषय पढ्ने ? भनेर केही दिन उनी रनभुल्लमै परे । एक दिन लाइफलाइन टेक्निकल कलेजको विज्ञापन गर्ने दलालसँग उनको भेट भयो ।

विज्ञापनदताले आफ्नो कलेजमा पढिसकेपछि कामका लागि विदेश पठाउने भन्दै लोभ देखाए । तालिमसँगै विदेशका विभिन्न होटल भ्रमणमा लैजाने र सँगसँगै होटल म्यानेजमेन्ट तालिम तथा कक्षा ११/१२ को सर्टिफिकेट दिने भन्दै उनलाई प्रलोभनमा पारियो । त्यही प्रलोभनमा परेर उनी एचएम (होटल म्यानेजमेन्ट) मा भर्ना भए । त्यस बाफत दुई लाख २० हजार शुल्क लिइएको थियो । होटल म्यानेजमेन्टसँगै उता कक्षा ११ र १२ पढ्नका लागि त्रिनगरमा लाइफलाइन टेक्निकल कलेजले नै भर्ना गरिदियो ।

सँगसँगै दुवैतर्फको पढाइ सुरु गरेका उनले कक्षा ११ र १२ मा समय अभावका कारण नियमित कक्षा लिन पाएनन् । त्रिनगरमा भर्ना भएका उनी एकैपल्ट परीक्षा दिन मात्रै जान्थे । उनी मात्रै हैनन् छोटो अवधिको तालिम लिएर त्रिनगरमा पढ्ने सबै विद्यार्थी नियमित कक्षा लिँदैनथे । लाइफलाइन टेक्निकल कलेजबाट होटल म्यानेज्मेन्ट तालिम लिएका उनले प्रमाणपत्र पनि पाएन् । कक्षा १२ पास गर्न सकेनन् ।

‘नियमित विद्यालय जानै पाएन,’ उनले भने,‘त्यही भएर कक्षा १२ मा विषय लाग्यो र दोस्रो वर्ष परीक्षा दिँदा पनि पासै हुन सकिन ।’ धनगढीमा होटल म्यानेजमेन्टको तालिम तथा कक्षा ११ र १२ पढाउनका लागि उनका बुबाले बैंकबाट ऋण काढेका थिए । छोरालाई पढाउन लिइएको ऋण अहिलेसम्म समेत परिवारले चुक्ता गर्न सकेका छैनन् । तालिम लिएर धनगढीका कुनै पनि होटलमा काम नपाएको बताए । उनले भने ‘होटल म्यानेजमेन्ट पढेर न कामै पाए, न कक्षा १२ नै पास गर्न सके । अन्ततः कामका लागि भारत आउनु पर्यो ।’ जुन लेभलको होटल म्यानेजमेन्ट पढेको थिए, त्यो अनुसारको भारतमा पनि काम नपाएपछि अहिले एउटा सामान्य होटलमा काम गरिरहेको उनले बताए ।

रेडिकल एकेडेमीका सञ्चालक छेडालले आफूहरुले प्रशिक्षार्थीलाई कोर्ष अनुसारको तालिम दिएको बताए । उनले भने,‘हामीले सीमित अवधिको तालिम दियौँ, तालिम लिएकाहरुलाई प्रमाणपत्र दियौँ,’ तर उनले भने अनुसार सबैले प्रमाणपत्र पाएका छैनन् । भर्ना गर्ने क्रममा रोजगारीको ग्यारेन्टी नै दिएका उनले पढेका सबैले रोजगारी नपाउने बताए । अगाडिसम्म आफूहरुको इन्स्टिच्युटबाट प्रमाणपत्र दिइएपनि अबदेखि भने सिटिइभिटीबाट प्रमाणपत्र दिइने उनले बताए ।

तर, सिटिइभिटी सुदूरपश्चिम प्रदेश कार्यालयका सूचना अधिकारी दीपा जोशीले सीप परीक्षण नगराएसम्म त्यस्ता तालिमको प्रमाणपत्र दिन नमिल्ने बताइन् । उनले भनिन्,‘इन्सिच्यूटले छोटो अवधिका लागि दिएको तालिमको प्रमाणपत्र काम लाग्दैन, सिटिइभिटीबाट प्रमाणपत्र लिनका लागि सीप परीक्षण गराउनु पर्छ । यो कुरा प्रशिक्षार्थीले बुझ्नुपर्दछ ।’

इन्स्टिच्युटहरूले छोटो अवधिका तालिमको चर्को शुल्क असुल्ने गरेका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)सुदूरपश्चिम प्रदेश कार्यालयकी सूचना अधिकारी दिपा जोशीका अनुसार तीन महिनासम्मको छोटो तालिममा अधिकतम ३० देखि ३५ हजारसम्म मात्र खर्च हुने भए पनि केही इन्स्टिच्युटहरूले एकदेखि दुई लाखसम्म उठाउने गरेका छन्। प्रावधान अनुसार प्रि–डिप्लोमा तहसम्मको तालिममा मात्रै करिब १ लाखसम्म शुल्क लिन पाइने उनले बताइन् ।

तर, त्यसभन्दा छोटा अवधिका तालिममा बढी शुल्क असुल्नु गैरकानुनी भएको उनले बताइन् । उनले भनिन्,‘छोटो अवधिको केही घण्टामात्र हुने तालिमका नाममा अत्यधिक शुल्क लिएको हो भने विद्यार्थीहरूले पनि सिटीभिटीलाई जानकारी गराउनुपर्छ।,’ विद्यार्थीहरूबाट गुनासो नआउँदा नियमन गर्न पनि समस्या भइरहेको उनले बताइन् ।

गुनासो आएमा सम्बन्धित इन्स्टिच्युटको अनुमति नै खारेज गर्ने प्रक्रिया अघि बढाइने जोशीले बताइन् । इन्स्टिच्युटहरूले विद्यार्थी आकर्षित गर्न एउटै बोर्ड नदेखाई तीन–चारवटा फरक फरक बोर्ड राख्ने गरेको समेत उनले बताइन् । उनले भनिन् ,‘ETVA बाट मान्यता प्राप्त, CTEVT बाट मान्यता प्राप्त, भाषा कक्षा, कम्प्युटर बोर्ड, विदेश भ्रमण तथा इन्टर्नसिपका प्रलोभन देखाएर भर्ना गराउने प्रवृत्ति बढ्दै गएको छ।,’ यस्ता इन्स्टिच्युटबारे छानबिन गर्न पाँच सदस्यीय समिति समेत गठन गरिएको उनले जानकारी दिइन्। समितिले विदेशी संस्थाबाट अनुमति लिएको हो वा होइन, नेपालमा मान्यता प्राप्त छ कि छैन भन्नेबारे प्रकिया अगाडी बढाएको छ ।

केही समय अगाडी जिल्ला प्रशासन कार्यालय कैलालीले नौवटा इन्स्टिच्युटको कागज पत्र माग गरेर अनुसन्धान गरिरहेको छ । श्रीपेच एजुकेसन प्रालि, रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, ड्रे मिट इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट प्रालि, सहारा ट्रेनिङ इन्स्टिच्युट प्रालि, श्री इन्स्टिच्युट अफ हस्पिटालिटी एण्ड इन्फरमेसन टेक्नोलोजी, श्री किर्तीगंगा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, श्री टेक्निक्स अफ एडभान्स म्यानेजमेन्ट प्राक्टिसेस एण्ड लर्निङ एक्सीलेन्स प्रालि, नेक्सस इन्टरनेशनल एजुकेशन एण्ड ट्रेनिङ सेन्टर र हिमालयन एजुकेसन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिका काजगपत्र माग गरेर अनुसन्धान भईरहेको छ । केही इन्स्टिच्युटहरुले बिदेशी संस्थाबाट अनुमति लिएर चलाइरहेको जानकारी आएपछि हो कि होइन भन्ने कुरा छुट्याउन समस्या भएपछि शिक्षा मन्त्रालय मार्फत अनुसन्धानका लागी पत्र पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।

ताजा खबर

Stake GamCare et BeGambleAware Ressources

Kingia Community Features: Forums and Chat

Instantaneous Play Casino Site: The Ultimate Overview to Online Betting

Online Casinos Accept PayPal: The Convenient and Safe Method to Wager Online

Bet On Red Casino Review: Sessioni Veloci per il Giocatore Moderno

Comment repérer une fausse page de connexion Olympe Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !