२५ साउन,कैलाली /कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनः सञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाइ ज्ञापनपत्र बुझाइएको छ ।

कैलालीका ७ स्थानीय तहका जनप्रतिनिधि र भजनी उद्योग वाणिज्य संघले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि बन्द रहेको भजनी नगरपालिका–५ लालबोझीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय तत्काल पुनः सञ्चालन गर्न माग गरेका हुन् ।
वि.सं. २०२२ सालदेखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार कार्यालयलाई सरकारको निर्णयअनुसार बन्द गरिएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । भन्सार पुनस्र्थापनाको माग गर्दै स्थानीय नागरिक, भजनी उद्योग वाणिज्य संघ तथा विभिन्न सरोकारवाला पक्षको सहभागितामा संघर्ष समिति नै गठन गरी भन्सार कार्यालय पुनः सञ्चालनको माग गरिरहेका छन् । यसै क्रममा भन्सार पुन सन्चालनको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।
नेपाल सरकारद्वारा जारी भन्सार नियमावली, २०८३ (पहिलो संशोधन) को परिच्छेद–२ को दफा ३ अनुसार अनुसूची–१ मा १५ वटा छोटी भन्सार कार्यालय रहने व्यवस्था रहेको र त्यसमा पृथ्वीपुर छोटी भन्सार कार्यालय समेत रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । विगत ६० वर्षभन्दा बढी समयदेखि निरन्तर सञ्चालनमा रहेको पृथ्वीपुर छोटी भन्सार कार्यालय हटाइएपछि हाल सेवा अवरुद्ध भएको र यसबाट स्थानीय नागरिकले समस्या भोग्नुपरेको जनाइएको छ ।
भन्सार कार्यालय बन्द हुँदा कैलाली जिल्लाका सम्बन्धित स्थानीय तहका तीन लाखभन्दा बढी नागरिक, कृषक, व्यापारी तथा उद्योगीहरूलाई ठूलो सास्ती भइरहेको ज्ञापनपत्रमा उल्लेख छ । लामो समयदेखि भन्सार सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकमा जनआक्रोशसमेत बढ्दै गएको जनप्रतिनिधिहरूले बताएका छन् ।
पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनः सञ्चालनका लागि भजनी नगरपालिकाले यसअघि नै भन्सार विभाग, त्रिपुरेश्वरमा पत्राचार गरिसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । अर्थ मन्त्रालयमा समेत पत्राचार गरिसकेको तर हालसम्म त्यसबारे सुनुवाइ नभएपछि काठमाण्डौ पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाइ ज्ञापन पत्र बुझाइएको छ ।
त्यसैगरी, पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि स्थानीय व्यवसायी एवं युवाहरूको सहभागितामा विस्थापित पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःस्थापन संघर्ष समिति, कैलाली गठन गरिएको र समितिले भन्सार कार्यालय यथाशीघ्र पुनः सञ्चालन गर्न माग गर्दै स्थानीय तहमा ज्ञापनपत्र तथा अन्य दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । संघर्ष समितिले चरणबद्ध संघर्षका कार्यक्रमसमेत घोषणा गरिसकेको ज्ञापनपत्रमा उल्लेख छ ।
कैलाली भन्सार कार्यालय धनगढीबाट करिब ६० किलोमिटर पूर्व र सत्ती भन्सार कार्यालय खक्रौलाबाट करिब २० किलोमिटर पश्चिममा, भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडक नजिकै पृथ्वीपुर छोटी भन्सार कार्यालय रहेको छ ।
विगत लामो समयदेखि सञ्चालनमा रहेको उक्त भन्सार कार्यालयले भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिका तथा जोशीपुर, बर्दगोरिया, कैलारी र जानकी गाउँपालिकाका तीन लाखभन्दा बढी नागरिक, व्यापारी, उद्योगी तथा कृषकलाई सेवा प्रदान गर्दै आएको जनाइएको छ । साथै, कार्यालयले राजस्व सङ्कलन वृद्धि तथा राजस्व चुहावट नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
स्थानीय जनताको हकहित, सहज सेवा प्रवाह तथा राजस्व संरक्षणलाई दृष्टिगत गरी यथाशीघ्र आवश्यक निर्णय गराई पृथ्वीपुर छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी मूल भन्सार कार्यालयका रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन जनप्रतिनिधिहरूले माग गरेका छन् ।
ज्ञापनपत्रमा भन्सार कार्यालय स्तरोन्नतिका लागि आवश्यक जग्गा उपलब्ध गराउन स्थानीय तह तयार रहेकोसमेत उल्लेख गरिएको छ ।







