कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
आज दिउँसो करिब ३ः५० बजे मिलनचोकमा बाटो पार गर्ने क्रममा धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अंकित गुप्ताले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ स ६११ नम्बरको अटोले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय कैलालीका सुचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिनु भयो ।
उहाँका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापाको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको छ ।
दुर्घटना पछि मोटरसाइकलमा पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका १४ वर्षीय क्रिस गोतामेको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँलाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले साँझ ४ः१५ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न अटो, अटो चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको सुचना अधिकारी तिमिल्सिनाले जानकारी दिनु भयो ।







