बेलैमा बुद्धि नपुर्‍याए फेरि रुन पनि पाइने छैन

शेयेर गर्नुहोस

रेशम चौधरी,
स्थानीय निर्वाचनको तरंगले हाम्रो देश ढाकिसक्यो। सहरका हलहरु राजनीतिक कार्यक्रमले भरिभराउ छन्। गाउँका गल्लीहरुमा ठडिएका वृक्षहरु राजनीतिक झण्डाले रंगीन छन्। बस्तीका झुपडीहरुमा समेत दलका झण्डा टाँगिएका छन्।

दृश्य देखेर उदेक त तब लाग्छ, जब उध्रिएको खरको छानोले समेत कुनै राजनीतिक दलको नयाँ झण्डा सिउरिएर मुस्कुराइरहेको हुन्छ। उदांगो छानोले समेत हाम्रो खिसिटिउरी गर्दै गिज्याइरहेको हुन्छ- हेर मनुवा दशैं आएको छ। जति सक्छौं जमरा सम्झेर झण्डै-झण्डाले मलाई सिउरिदेउ।

कुनै दलको उम्मेदवारले बोतलको खर्च छोडेर गएको छ भने बेलुकी झुपडीको मालिकले मतवार भएर छाती ठोक्दै बर्बराउँछ- ‘भोट त म फलाना पार्टीलाई हाल्न्या हो। क्यानकि मेरा बाज्या सात सालदेखि यही पार्टीमा लाग्याका छिया।’

आफैँ बस्ने झोपडीसमेत सिउने हैसियत नभएको लुख्टवा मालिकले नातिको भविष्यको सपना देख्दैन। बाजेको विगत स्मरण गर्छ। ऊ बाजेले व्यतित गरेको विगतलाई इतिहास ठान्छ। त्यसो त भोको पेटमा पनि वीरताको बखान गरेर नथाक्ने जाति नै गोर्खाली हो। नाति हवाइजहाज उडाउने पाइलट बनेको, बिरामीको सेवा गर्ने डाक्टर बनेको, कृषक बनेको, इन्जिनियर बनेको सपना आजसम्म विरलै झुपडीका बाजेहरुले देखेका होलान्।

इतिहास सम्झेर जुँगामा ताउ लगाउने, तर वर्तमान नातिलाई नोकर बनाउने मानसिकताका कारण हाम्रो हविगत यस्तो भएको हो।

दलका उम्मेदवारले देश बनाउने सपना देखाउनुपर्ने हो। तर, यहाँ दारु पिलाउने सपना देखाइन्छ। घर जग्गा बेचेर जसोतसो शैक्षिक प्रमाणपत्र हात परेकाहरु जागिरका लागि वर्षौं भौँतारिन्छन्। केही सिप नलागेपछि विरानो मुलुकमा प्रवासीन बाध्य हुन्छन्। के गर्ने हाम्रो देशका राजनीतिक दलहरुले यस्तै संस्कारको विकास गरेका छन्। रोजगार पाउन कि त कार्यकर्ता हुनुपर्छ, कि त आफन्त हुनुपर्छ। सक्षम, असक्षम, दक्ष, अदक्षजस्ता शब्द त हाम्रो डिक्सनरीबाटै हाराउन थालिसक्यो।

यहाँ जस्तोसुकै भ्रष्ट भए हुन्छ, तर आफ्नो हुनुपर्‍यो। जस्तेसुकै ठग ठेकेदार भए पनि भयो, तर आफ्नो हुनुपर्‍यो। चोर, गुण्डा, लुख्खा, फटहाजस्तो भए पनि भयो, तर आफ्नो हुनुपर्‍यो। आफू आबद्ध राजनीतिक दलको हुनुपर्‍यो। इमानभन्दा बेइमान चल्ने संस्कारको विकास भइसक्यो। सक्षमभन्दा असक्षमले समाज कप्लक्कै खाइसके। राजनीतिक दलहरु कल्पवृक्ष हुन सकेनन्, झार बन्ने ध्याउन्न छ तिनको। परिवर्तन हाम्रो मस्तिष्कमै अटाउन सकेन, कारण विगतको गोबर हामी दिमागबाट हटाउनै चाहन्नौं।

विचार क्रान्तिकारी बोक्ने, भाषण क्रान्तिकारी ठोक्ने, तर विचारधारा मिले पनि, नमिले पनि सबैसँग मिल्ने। सत्ता र भत्तामात्रै तिनको सपना हो, बाँकी सबै झुठ। अहिले पनि जनताले तिनले देखाएको सपनामा सिमलको भुवाझैँ उडिरहने हो भने कुन खोल्सामा पुगौँला, त्यो त पुगेपछि थाहा होला। विचारको गठबन्धनको ढ्याउ ढ्याउ लगाउनु हुँदैन।

दस वर्षकै अन्तरालमा भारतजस्तो विशाल देशमा सनसनी मच्चाउनसक्ने पार्टीको नाम हो– आम आदमी पार्टी अर्थात् आप। आपका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले भर्खरैमात्र दुई तिहाइ मत प्राप्त गरी पञ्जाबमा सरकार बनाउन सफल भएका छन्।

उनले पार्टीको विजयसभामा सम्बोधन गर्दै भनेका थिए, ‘जनताले हामीलाई फोहोर ढाक्ने जलकुम्भीजस्तै उपयोग गर्नुपर्छ। जबसम्म हामीले हिलो ढाक्नसक्छौं, तबसम्म सम्मान गर्नुस्। औचित्य सकियो भने हटाइदिनुस्।’ त्यही भएर आज आप पार्टीले एक दसककै यात्रामा भारतको सबैजसो प्रान्तमा आफ्नो राजनीतिक स्थान जमाउन सफल भएको छ।

संसारमा जहाँसुकै, जतासुकै, कूल, अनुकूल मौसममा समेत फैलिनसक्ने बनस्पतिको नाम हो झार। झार अन्य बनस्पतिमाथि मिचाहा प्रवृत्ति राख्छ। ठ्याक्कै ठूला भनाउँदा नेपाली राजनीतिक दलहरुको प्रवृत्ति पनि यस्तै छ। यिनीहरु गाउँको कुना कन्दारासम्म विकास होइन, आफ्ना पार्टीको जरो गाडिएको रुचाउँछन्। जलकुम्भी होइन, झार बन्न रुचाउँछन्। जतासुकै जरो गाड्न सकिए आफू सफल भएको ठान्छन्। स्वार्थको लिप्सा यहाँसम्म राख्छन् कि राजनीतिक लाभमात्रै हुनुपर्‍यो, जस्तोसुकै गलत कदमको साक्षी बन्नसमेत तयार हुन्छन्।

नेपालमा दिनप्रति दिन बढ्दै गएको नागरिक चेतनाको विकासका कारण ठूला दल त्रसित छन्। यिनीहरु यति डराएका छन् कि अहिले यिनको हरेक राजनीतिक भाषणमा ‘गठबन्धन’ झुण्डिरहेको छ। गठबन्धन विना यिनीहरु आफ्नो भविष्य देख्दैनन्। स्थानीय निर्वाचनमा समेत ठूला भनाउँदा राजनीतिक दलहरुको यो हविगत देखेर हाँसो उठ्छ।

स्थानीय चुनावमा त स्थानीय बुद्धिजीबीहरुको वर्चस्व भएमात्रै स्थानीय विकास सम्भव हुन्छ। जबसम्म स्वतन्त्र, पढेलेखेका, स्थानीय विकासको चेतना भएका रैथानेलाई प्रतिनिधि हुन दिइन्न, तबसम्म लुटेरा सरदारको हातमा स्थानीय सम्पत्तिको साँचो हस्तान्तरण गर्नुमात्रै हो। स्थानीय चुनावमा गठबन्धन फलाक्नेलाई बहिस्कार नगरेसम्म मुलुक विकास सम्भव छैन।

स्थानीय मतदाताले बुझ्नुपर्छ, गठबन्धन भनेको सर्प बेरिएको दृश्यजस्तो मात्रै हो। जति मोटा र विषालु सर्प बेरिए पनि डोरी बन्न सक्दैनन्। त्यसैले स्थानीय निर्वाचनमा स्थानीयले नै हातेमालो गर्नुपर्छ। आफैँ मिलेर आफ्नो प्रतिनिधि छान्ने ल्याकत राख्नुपर्छ। सबै चुनावमा गठबन्धन गरौँ भनेको हामीमात्रै राजनीति गरौँ, नेपालको राजनीतिमा अन्यको उपस्थिति नहोस् भन्ने हो। 

यदि यसो हो भने गठबन्धन लोकतन्त्रको विरुद्धमा भएको बुझ्नुपर्छ। प्रजातान्त्रिक सामान्य हकसमेत जनतालाई दिन ठूला दल तयार छैनन् भन्ने बुझ्नुपर्छ। गठबन्धनको सँस्कृति मौलाउँदै गए स्वतन्त्र राजनीतिक हक जनताबाट खोसिनेछ। त्यसो भए गठबन्धनका सम्राटले नै एक दिन यो देशको श्रीपेच सिउरिनेछन्। जनता फेरि तिनका दास बन्नेछन्। मैले एक नेताको शब्द सापटी लिँदै टुंग्याएँ- बेलैमा बुद्धि नपुर्‍याए फेरि रुन पनि पाइने छैन।
(हालः डिल्लीबजार कारागार)

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

५ दिने साइकल यात्रा डोटिको झिक्राना पुगेर सम्पन्न

जमुना न्युरे,धनगढी / डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु मङलबार विहान भू-स्वर्गका रुपमा रहेको खप्तड बाट फर्कियर डोटिको झिक्राना पुगेका छन् । ‘

अझै पढ्नुहोस्