कर्णाली जैविकमार्गमा मानव – वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न मेष वायर तारजाली

शेयेर गर्नुहोस

सुखड/कैलालीमा वर्षौँदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ तारजाली निर्माण गरिएको छ। जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गत पर्ने संवेदनशील कर्णाली जैविक मार्गका सामुदायिक वनमा तारजाली लगाइएको छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा सञ्चालित एकीकृत भू–परिधि आयोजनाअन्तर्गत  जानकी गाउँपालिका– ६ मा रहेको कैलाशेश्वर सामुदायिक वनमा एक हजार ६५० मिटर, कर्णाली कोरिडोर सामुदायिक वनमा एक हजार मिटर र टीकापुर नगरपालिका– २ स्थित रानी कर्णाली सामुदायिक वनमा एक हजार १०० मिटर लामो तारबार निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वरिष्ठ वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । 


प्रमुख कडेलले सामुदायिक वन र मानव बस्तीको सिमानामा पिसिसी (सिमेन्ट, कंक्रिट) को जगसहितको बलियो मेस वायर तारबार निर्माण गरिएको छ । यस कार्यले वन्यजन्तुलाई बस्ती पस्नबाट रोक्ने र स्थानीय बासिन्दाको बालीनाली, घरपालुवा पशु तथा मानवीय क्षतिसमेत न्यूनीकरण हुने मानव वन्यजन्तु बिचको द्वन्द्व कम हुने विश्वास लिइएको छ ।

कँडेलले भने, ‘टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका कर्णाली जैविक मार्गका महत्त्वपूर्ण हिस्सा हुन्, जुन बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।’ उनका अनुसार निकुञ्जबाट पाटेबाघ, हात्ती, चितुवालगायतका ठुला र संरक्षित वन्यजन्तु आहारा र वासस्थानको खोजीमा ओहोरदोहोर गर्ने क्रम निरन्तर चलिरहन्छ।

 उनले भने, ‘त्यसैले यो क्षेत्र द्वन्द्वको उच्च जोखिममा छ, यो तारबारले ठुला जनावरलाई मात्र नभई चित्तल, बँदेल, नीलगाईजस्ता साना जनावरले किसानको बालीनालीमा पुर्‍याउने क्षतिलाई पनि रोक्न प्रभावकारी हुनेछ ।’

लामो समयदेखि यस क्षेत्रका बासिन्दा जंगली जनावरको मानव बस्तीमा प्रवेशका कारण पीडित थिए । कर्णाली जैविक मार्ग बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा यो क्षेत्र बाघ, चितुवा, हात्ती, बँदेल, नीलगाई, चित्तलजस्ता वन्यजन्तुको प्रमुख ओहोरदोहोर गर्ने बाटो हो । यी जनावर मध्यरातमा बस्ती पसेर किसानले दुःख गरेर लगाएको धान, गहुँ, मकैजस्ता बालीनाली सखाप पार्ने, गोठमा बाँधिएका बाख्रा, बंगुर तथा अन्य घरपालुवा पशुपन्छी मारेर खाने गर्थे । कहिलेकाहीँ मानिसमाथि नै आक्रमणका घटना भएका थिए, जसले गर्दा स्थानीय त्रासमा बाँच्न बाध्य थिए।

तारबार निर्माणपछि भने स्थानीयमा ठुलो राहत मिलेको कैलाशेश्वर सामुदायिक वनका अध्यक्ष टेकबहादुर शाहीले बताए।  उनले भने, ‘पहिले हामी रातभर जाग्राम बसेर बाली कुर्न बाध्य थियौँ, जंगली जनावरले कतिवेला आएर क्षति पुर्‍याउने हो भन्ने डर सधैँ रहन्थ्यो, अब यो बलियो तारबारले वन्यजन्तुलाई वन क्षेत्रमै सीमित राख्न मद्दत गर्नेछ ।’

‘यसले हाम्रो बालीनाली र पशुधनको सुरक्षा मात्र होइन, मानव–वन्यजन्तुबिचको अप्रिय घटनालाई पनि न्यूनीकरण गर्नेछ,’ उनले भने।  सबडिभिजन वन कार्यालय, टीकापुरका वरिष्ठ वन अधिकृत दिलीप यादवले यो तारबार मानव-वन्यजन्तु सहअस्तित्व कायम गर्ने दिशामा एक महत्त्वपूर्ण कार्य भएको बताए। उनका अनुसार विगतमा वन र बस्तीबिच कुनै भौतिक अवरोध नहुँदा वन्यजन्तु तथा मानिसको जम्काभेट हुने सम्भावना उच्च थियो, जसले द्वन्द्व निम्त्याउँथ्यो । 

पिसिसीसहितको मेस वायर फेन्सिङले दुवै पक्षलाई आ–आफ्नो क्षेत्रमा सुरक्षित राख्छ । यसले एकातिर वन्यजन्तु आफ्नो प्राकृतिक वासस्थानमा निर्धक्क घुमफिर गर्न पाउँछन् भने अर्कोतिर स्थानीय समुदायको जीविकोपार्जन सुरक्षित हुन्छ । 

एकीकृत भू-परिधि व्यवस्थापन आयोजना कार्यान्वयन एकाइमा फिल्ड व्यवस्थापक प्रकाश थापाले आयोजनाको मूल उद्देश्य नै महत्त्वपूर्ण जैविक मार्गको संरक्षण गर्दै मानव र प्रकृतिको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताए। 

‘हामीले कैलाली र बर्दियालाई जोड्ने कर्णाली जैविक मार्गलाई एउटा सिंगाे भू–परिधिका रूपमा हेरेका छौँ,’ थापाले भने, ‘यो केवल तारबार निर्माणमा मात्र सीमित छैन खण्डित भएका वन क्षेत्रलाई जोड्न वृक्षरोपण र प्राकृतिक पुनः उत्पादनलाई सहयोग गर्ने (जैविक मार्ग पुनः स्थापना) पनि गरेका छौँ ।’

थापाका अनुसार परियोजनाले स्थानीय समुदायलाई वनमाथिको निर्भरता घटाउन व्यवस्थित पशुगोठ निर्माण, बेमौसमी तरकारीखेती र गैरकाष्ठ वन पैदावारमा आधारित उद्यमजस्ता वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गरेको छ ।

‘सामुदायिक वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि, वन्यजन्तु उद्धारसम्बन्धी तालिम र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीयस्तरमा सचेतना फैलाउनेजस्ता क्रियाकलाप पनि सँगसँगै अगाडि बढाइरहेका छौँ,’ थापाले भने ।

ताजा खबर

The Ultimate Guide to Casino Slot Tournaments for Players

Igre v Betandyou kraljestvo spleta

Kaleo Casino: Kansspel op de Gokkast met Aantrekkelijke Rijksloten en Winningsuitdagingen

Giocando con i Macachi al Monkeybet Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश कार्य समिति पदस्थापन तथा यस क्षेत्रको पर्वतीय पर्यटनमाथि बहस

धनगढी/नेपाल पर्वतारोहण संघ (एनएमए) सुदूरपश्चिम प्रदेश कार्य समितिको पदस्थापन समारोह तथा यश क्षेत्रको पर्वतीय पर्यटन विकाससम्बन्धी बहस कार्यक्रम सोमबार धनगढीमा भएको छ । नेपाल पर्वतारोहण

अझै पढ्नुहोस्