धनगढी, ३ भदौ / सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सभाका सदस्य प्रकाश देउवालाई एकाएक हटाइएको विषयमा प्रश्न उठाएका छन्। उनले कुनै व्यक्तिलाई जिम्मेवारीबाट हटाउँदा प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित व्यक्तिसँग कम्तीमा एकपटक छलफल गर्नुपर्ने बताएका छन्।

शाहले नवनियुक्त मुख्यमन्त्री खगराज भट्टलाई बधाईसमेत दिएका छन्। उनले नयाँ सरकारका राम्रा काममा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफूहरू रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताए।

प्रदेश सभा सदस्य प्रकाश देउवालाई एकाएक किन हटाइयो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने शाहको भनाइ छ। “प्राकृतिक न्यायको आधारमा सम्बन्धित व्यक्तिलाई एकपटक पनि नसोधी यो गर्नु उचित होइन,” उनले भने।
सभामुख भिम बहादुर भण्डारीले कुनै अमुक उद्देश्य प्राप्तिका लागि आफ्ना गतिविधि अगाडि बढाउन नहुने बताउँदै शाहले सभामुखले आफ्नो पदको मर्यादा र प्रदेश सभाको गरिमालाई समेत ध्यान दिनुपर्ने धारणा राखे।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई सहयोग पुग्ने गरी सभामुखले निर्णय गरेको भन्दै शाहले त्यसप्रति आफ्नो असहमति रहेको बताए। संवैधानिक र कानुनी प्रक्रियाअनुसार सरकार अघि बढ्दा आफूहरूको कुनै अवरोध नरहने स्पष्ट पार्दै उनले कुनै छलफल नगरी एकाएक निर्णय गर्नु उचित नभएको बताए।
सभामुखले आफ्नो अधिकार १० दिन अगाडि २० दिन अगाडि वा १ महिना अगाडि पनि गर्न सक्थे। किन गरेनन् ? निवर्तमान मुख्यमन्त्रीले प्रश्न गरे ।
“हामी रचनात्मक प्रतिपक्षीको भूमिका निभाउन तयार छौँ। सरकारका राम्रा काममा सधैँ सहयोग हुन्छ। संवैधानिक र कानुनी प्रक्रियामा अगाडि बढ्नुपर्नेमा हाम्रो कुनै रुकावट छैन,” शाहले भने।







