धनगढी । संविधान दिवसको पूर्वसन्ध्यामा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाइ गरेको छ।

मन्त्रालयको अगुवाइमा शुक्रबार गरिएको सरसफाइमा मुख्यमन्त्री खगराज भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ र राज्यमन्त्री जानकीदेवी कुँवरसहित मन्त्रालयका कर्मचारी तथा स्थानीय युवाको सहभागिता थियो।
सरसफाइमा सहभागी मुख्यमन्त्री भट्टले सरकारी कार्यालयको कार्यसम्पादनसँगै कार्यालय परिसर पनि स्वच्छ, व्यवस्थित र जनताले महसुस गर्ने खालको हुनुपर्ने बताए। मन्त्रालय परिसरको झाडी र फोहोर देख्दा सरकारी कार्यालयभन्दा मसानघाटजस्तो देखिने अवस्था रहेको भन्दै उनले यस्तो अवस्था अन्त्य गर्नुपर्ने बताए।
मन्त्री भाटले सेवाग्राहीका लागि बस्ने ठाउँको अभाव रहेकाले परिसरलाई व्यवस्थित गरी गार्डेन निर्माण गर्ने उद्देश्यले सरसफाइ गरिएको बताए। उनले सरसफाइ गरिएको क्षेत्रमा धनगढी उपमहानगरपालिकाले गार्डेन निर्माण गर्ने जानकारी दिए।
राज्यमन्त्री कुँवरले सरसफाइमार्फत आफ्नो ठाउँ र टोल आफैँ बनाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको बताइन्। कार्यक्रममा युवाको उल्लेख्य सहभागिता रहेको थियो।







