धनगढी/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको विशेष महाधिवेशनबाट आएको केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलाले पार्टीभित्रको आन्तरिक कलह, गुटबन्दी र वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै ११ बुँदे घोषणापत्र जारि भएको छ ।

प्रदेश सभापति वीरबहादुर बलायरले जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशनका कारण पार्टीमा विभाजनको रेखा कोरिएको र यसले भर्खरै सम्पन्न निर्वाचनमा समेत नकारात्मक असर पारेको उल्लेख छ ।
भेलाले १५ औँ महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन साविक र वर्तमान केन्द्रीय समितिको समन्वयमा एउटा ‘तटस्थ निर्वाचन समिति’ गठन गर्न माग गरेको छ । विशेष महाधिवेशनले १४ औँ महाधिवेशनका निर्वाचित प्रतिनिधिहरूलाई विस्थापित गरेको भन्दै भेलाले असन्तुष्टि जनाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा निवर्तमान सभापति शेरबहादुर देउवामाथि विगतमा लगाइएका आरोप–प्रत्यारोपबारे समीक्षाको माग गरिएको छ । देउवालाई ‘साहसी नेतृत्व’ र ‘अथक योद्धा’ भन्दै भेलाले उपचाररत देउवाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
सुदूरपश्चिम कांग्रेसले सरकारको आलोचना गरेको छ । सरकार अपारदर्शी भएको, संसद्प्रति उत्तरदायी नरहेको र अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
धान रोपाइँको सिजनमा मलको अभाव हुनु र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण नागरिक प्रताडित भएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ । गुरुयोजना बिना सुकुमबासी हटाउने सरकारको कार्य अमानवीय रहेको ठहर गरिएको छ ।
भेलाले क्रियाशील सदस्यता अद्यावधिकका नाममा लिइने शुल्क र प्रक्रियामा अल्झिनुभन्दा सङ्गठन सुदृढीकरणमा लाग्न नेतृत्वलाई सुझाव दिएको छ । साथै, विधानलाई आमूल परिवर्तन गर्ने प्रयासप्रति असहमति जनाउँदै विधान संशोधन न्यायसम्मत र वैधानिक प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिएको छ।
कांग्रेसले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको जनधारणा बढिरहेको भन्दै जनताका समस्या (बेरोजगारी, भ्रष्टाचार र आर्थिक सङ्कट) मा स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्न केन्द्रीय नेतृत्वलाई आग्रह गरेको छ ।
भेलाले बाजुरा जिल्लाको रानीसैन क्षेत्रलाई सामरिक र पर्यटकीय महत्वको क्षेत्रका रूपमा विकास गर्न र त्यहाँ राज्यको उपस्थिति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। निर्वाचित पदाधिकारीहरूलाई विधान विपरीत पदबाट हटाउने कार्य स्वीकार्य नहुने चेतावनी भेलापछि प्रदेश सभापति बलायरले जारी गरेको विज्ञप्तिमा दिइएको छ।
सुदूरपश्चिमका ९ वटै जिल्लाका नेता–कार्यकर्ता सहभागी भेलाले पार्टीलाई एकताबद्ध र जनआधारित बनाउन नेतृत्वमा लचकता, सहनशीलता र त्याग हुनुपर्ने निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ।










