“अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस तथा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (फेकोफन) को तेस्रो वार्षिक साधारण सभा कैलालीको भजनीमा सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको आयोजनामा तथा भजनी नगर महासंघको व्यवस्थापनमा भजनी नगरपालिका–१ स्थित मोहन्याल सामुदायिक वनमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कैलाली र कञ्चनपुरका विभिन्न सामुदायिक वनका अध्यक्ष, उपभोक्ता, महासंघका जिल्ला तथा पालिका पदाधिकारी, वनकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा विशेषाधिकार समितिका सभापति तुलसी देवकोटाले जल, जंगल र जमिनको संरक्षण गर्न नसके मानव अस्तित्व नै जोखिममा पर्ने बताउनुभयो । उहाँले वन अतिक्रमण रोकथाम गर्दै वन क्षेत्रको संरक्षण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
सामुदायिक वन उपभोक्ताहरूले अघि सारेका २३ बुँदे मागप्रति आफ्नो धारणा राख्दै देवकोटाले दिगो वन व्यवस्थापन कार्यविधिलगायत जायज माग तत्काल सम्बोधन गर्न आफू उपभोक्तासँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सामुदायिक वन सबैको प्रयासबाट मात्रै संरक्षण हुने बताउँदै वन मन्त्रालयले गर्नुपर्ने सहयोगका लागि आफूहरू तत्पर रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा डिभिजनल वन अधिकृत लगायत संरक्षणकर्मिहरुको सहभागिता रहेको थिषे ।
कार्यक्रममा सहभागी सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूले सामुदायिक वन उपभोक्ताका हकहित, दोहोरो करलगायतका विषयमा उठाइएका माग सम्बोधनका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको बताएका थिए । उनीहरूले माग सम्बोधन नभए आगामी दिनमा आन्दोलनलाई थप कडा बनाउने चेतावनीसमेत दिएका छन्।
सामुदायिक वन दिवसको अवसरमा विभिन्न प्रजातिका करिब १५० वटा बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपालका केन्द्रीय महासचिव डण्डीराज सुवेदीले गर्नुभएको थियो भने स्वागत भजनी नगर महासंघका अध्यक्ष मंगला जोशीले गर्नुभएको थियो ।








