सत्ति / कैलालीको टीकापुर नगरपालिका–७, सत्तिमा रहेको ऐतिहासिक पद्म प्रकाशेश्वर महादेव मन्दिरको संरक्षण तथा विकासका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीको पहल तथा पर्यटनमन्त्री खड्कराज पौडेलसँगको समन्वयपछि मन्त्रालयले रणनीतिक पर्यटन पूर्वाधार विकास तथा विस्तार कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन गरेको हो ।
विनियोजित बजेटबाट मन्दिरमा स्थापित त्रिपुरासुन्दरी शक्ति भवानीको मूर्ति तथा मन्दिर परिसरको संरक्षण र विकास गरिने जनाइएको छ । बजेट कार्यान्वयन टीकापुर नगरपालिकामार्फत हुनेछ ।
मन्दिर संरक्षणका लागि पहिलोपटक बजेट विनियोजन भएपछि यस क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने मन्दिर व्यवस्थापन समितिका सचिव भिम विकले बताए ।







