जलवायु संकटको युगमा आस्था होइन, वैज्ञानिक चेतना आवश्यक

शेयेर गर्नुहोस


धनगढि,लबदेब धामी/हामी अहिले जलवायु परिवर्तनको सामान्य अवस्थाबाट अघि बढेर जलवायु संकटको युगमा प्रवेश गरिरहेका छौँ।

समयभन्दा अगाडि गुराँस फुल्नु, काफल पाक्नु, हिउँदमा पर्याप्त चिसो नहुनु, वर्षायाममा नियमित वर्षा नहुनु, पानीका मुहान सुक्दै जानु र भू–जलको सतह घट्दै जानु अब असामान्य घटना रहेनन्। यी सबै प्रकृतिले दिएको स्पष्ट सन्देश हुन् कि पृथ्वीको जलवायु प्रणाली असन्तुलित बन्दै गएको छ। यो चुनौती नेपालमा मात्र सीमित छैन, सिंगो विश्वले भोगिरहेको साझा संकट हो।


यस्तो अवस्थामा वर्षा होस् भनेर पूजा–आराधना गर्नु हाम्रो संस्कृति, परम्परा र व्यक्तिगत आस्थाको विषय हो। आस्थाको सम्मान गरिनुपर्छ। मठमन्दिर, देवस्थल र धार्मिक संस्कार हाम्रो समाजका महत्वपूर्ण आधार हुन्। तर आस्थाको नाममा समाजलाई भ्रममा राख्ने, वैज्ञानिक तथ्यलाई ओझेलमा पार्ने वा जनभावनामाथि राजनीति गर्ने प्रयास भने स्वीकार्य हुन सक्दैन।


आजको युग कृत्रिम बुद्धिमत्ता (एआई), उपग्रह प्रविधि र वैज्ञानिक अनुसन्धानको युग हो। नेपालमा जल तथा मौसम विज्ञान विभागले उपग्रह, राडार तथा मौसमीय मोडलका आधारमा केही दिनअगावै वर्षाको सम्भावित अवस्था सार्वजनिक गर्छ। यस्तो अवस्थामा विभागले पूर्वानुमान गरिसकेको वर्षालाई कुनै विशेष पूजा वा धार्मिक कर्मको परिणाम भनेर दाबी गर्नु वैज्ञानिक सत्य होइन। त्यो संयोगलाई चमत्कारका रूपमा प्रस्तुत गर्ने प्रयास मात्र हुन सक्छ।


यहीँ प्रश्न उठ्छ—के हामी आस्थाको अभ्यास गरिरहेका छौँ, वा आस्थाको नाममा सिर्जना गरिएको भ्रमलाई सत्य ठानिरहेका छौँ?
दुर्भाग्यवश, समाजमा केही व्यक्तिहरूले जनताको धार्मिक भावनाको उपयोग गर्दै आफूलाई असाधारण शक्ति भएको व्यक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। पानी पर्नु, खडेरी हट्नु वा प्राकृतिक घटना आफ्नै धार्मिक कर्मका कारण भएको दाबी कुनै प्रमाणमा आधारित हुँदैन। यस्तो प्रवृत्तिले धर्मको प्रतिष्ठा बढाउँदैन, बरु धर्मप्रतिको विश्वासलाई नै कमजोर बनाउँछ।

किनकि जब दाबी र वास्तविकता मेल खाँदैनन्, त्यसको असर अन्ततः आस्थामाथि नै पर्छ। धर्मले कहिल्यै असत्य बोल्न, भ्रम फैलाउन वा मानिसलाई अज्ञानतर्फ डोर्‍याउन सिकाएको छैन। त्यसैले आस्थाको नाममा गरिने ढोंगको विरोध गर्नु धर्मको विरोध होइन, धर्मलाई गलत प्रयोगबाट जोगाउने प्रयास हो।


जलवायु संकटको समाधान पूजा–आराधनाले मात्र सम्भव छैन। यसको समाधानका लागि वन संरक्षण, पानीका मुहानको पुनर्जीवन, भू–जल पुनर्भरण, वातावरणमैत्री विकास, कार्बन उत्सर्जन न्यूनीकरण तथा विज्ञानमा आधारित नीति आवश्यक छ। पूजा गर्नेले पनि रूख रोप्नुपर्छ, पानीका स्रोत जोगाउनुपर्छ र वैज्ञानिक चेतनालाई आत्मसात् गर्नुपर्छ। यही नै आस्था र कर्मबीचको सन्तुलन हो।


हामी भगवानमा विश्वास गरौँ, पूजा गरौँ र आस्था राखौँ। तर वर्षा कहिले हुन्छ भन्ने प्रश्नको उत्तर मौसम विज्ञानले दिन्छ, चमत्कारको दाबीले होइन। आस्था व्यक्तिगत विश्वासको विषय हो, तर सार्वजनिक अभिव्यक्ति र नीतिगत निर्णय भने वैज्ञानिक प्रमाणमा आधारित हुनुपर्छ।


जलवायु संकटको यस कठिन समयमा समाजलाई आवश्यक परेको कुरा चमत्कारका कथा होइनन्, सत्य सूचना हुन्; ढोंग होइन, जिम्मेवार नेतृत्व हो; भ्रम होइन, वैज्ञानिक चेतना हो। किनभने अन्ततः प्रकृतिले हाम्रो विश्वास होइन, हाम्रो व्यवहारको परिणाम देखाउँछ।

ताजा खबर

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

Stake GamCare et BeGambleAware Ressources

Kingia Community Features: Forums and Chat

सम्बन्धितखवर

छुटाउनु भयो कि !