कोहलपुर – लुम्बिनी प्रदेशकै अग्रणी साहित्यिक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले चार जना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।

शनिबार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगन्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ र बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’लाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।
प्रतिष्ठानले साहित्यिक योगदानको कदर गर्दै कुरेसीलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८२, आचार्यलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८३, जोशीलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२ र चन्दलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८३ प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जका पूर्वप्रमुख प्राध्यापक डा. गोपालप्रसाद शर्माले चारै जना स्रष्टालाई दोसल्ला ओढाउँदै नगद पुरस्कार र सम्मानपत्रसहित सम्मानित गरेका थिए ।
समारोहमा उपस्थित साहित्यकारहरूले आ–आफ्ना साहित्यिक रचना वाचन गरेका थिए । रचना वाचनसँगै पुरस्कार वितरण कार्यक्रमले साहित्यिक सिर्जना, प्रतिभा र स्रष्टाको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको थियो ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्दै साहित्यिक सिर्जना र प्रतिभा प्रोत्साहनमा योगदान पुर्याउँदै आएको छ ।







