उपचार नपाएर छटपटाउँदै १७ वर्षीय सुरज, आमाको एउटै चाहना–छोरा बचोस्

शेयेर गर्नुहोस

सुखड/ “ममी, म त मरिहाल्छु कि क्या हो !” १६ वर्ष पूरा गरेर १७ वर्षमा लागेका छोराले जब आमालाई यस्तो भन्छन्, कैलालीको घोडाघोडी नगरपालिका–३ स्थित सृष्टिनगर मुक्तकमैया शिविरकी रामजानकी चौधरीको मन थामिँदैन ।

छोरा सुरज चौधरीको मुखबाट निस्कने यही एउटा वाक्यले उहाँलाई भित्रैदेखि हल्लाउँछ । आँखाबाट आँसु झर्छन् । आफ्नो सन्तानलाई उपचार गराएर स्वस्थ भएको हेर्ने चाहना छ, तर कमजोर आर्थिक अवस्थाले त्यो चाहना पूरा हुन सकेको छैन ।


सुरजको शरीरभरि खटिरा छन् । लामो समयदेखि फैलिएको खटिराका कारण उनको कानको आधाभन्दा बढी भाग झरिसकेको छ । शरीरका विभिन्न भागमा रहेका घाउले उनलाई निरन्तर पीडा दिइरहेका छन् । उनी हिँडडुल गर्न सक्छन्, बोल्न सक्छन्, आफ्ना रहर आमासँग सुनाउँछन् । तर शरीरमा फैलिएको रोगले उनको सामान्य जीवन भने निकै कठिन बनाएको छ ।


बिस्तारामा सुत्दा कपडा शरीरका घाउमा टासीन्छन् । टासीएको कपडा निकाल्दा घाउमा थप पीडा हुन्छ । दिशा–पिसाब लाग्दा उठेर जान सक्ने भए पनि शरीरमा टाँसिएको कपडा चलाउँदा दुख्ने भएकाले कहिलेकाहीँ बिस्तारामै दिसा–पिसाब गर्नुपर्ने अवस्था आउने गरेको रामजानकी बताउनुहुन्छ ।


शरीरभरि घाउ भए पनि उनको मनमा अझै सामान्य जीवन जिउने रहर छ । उनी विद्यालय जान चाहन्छन् । साथीहरूसँग खेल्न चाहन्छन् । अरू बालबालिकाजस्तै पढ्न र रमाउन चाहन्छन् । “ममी, म स्कुल जान्छु,” उनले आमासँग भन्ने गरेका छन् । तर उनको यो इच्छा पूरा हुन सकेको छैन । उनको स्वास्थ्यका कारण अरू बालबालिकालाई समस्या हुन सक्ने भन्दै विद्यालयले भर्ना लिन नमानेको रामजानकी बताउनुहुन्छ ।


“स्कुल जान्छु भन्छ । दुइ ओटा बिद्यालयमा भर्नाका लागी प्रयास गरेपनि उसको कारण अरू बच्चालाई समस्या हुन्छ भनेर भर्ना लिन मानेन,” उहाँले भन्नुभयो । साथीहरूसँग खेल्ने उनको रहर पनि पूरा भएको छैन । “साथीहरूसँग खेल्न जान्छु भन्छ । तर उसलाई कसैले खेलाउँदैनन् । अरू बच्चाहरू खेलिरहेको देख्दा उसको मन दुख्छ,” रामजानकीले भन्नुभयो ।


पढ्ने, खेल्ने र साथीहरूसँग रमाउने उमेरमा उनले रोग र अभावसँग संघर्ष गर्नुपरेको छ । उनको शरीरमा खटिरा छ, कानको आधा भाग झरिसकेको छ, तर मनमा अझै विद्यालय जाने सपना जीवित छ ।
मुक्तकमैया शिविरको जीवन, उपचारको अर्को ठूलो बोझ
रामजानकी श्रीमान संगै आफ्ना आमाबुबा र सासुसँगै सृष्टिनगर मुक्तकमैया शिविरमा बस्नुहुन्छ । उहाँका दुई छोरा र एक छोरी छन् । परिवारसँग आफ्नो जमिन छैन । बसोबासका लागि मुक्तकमैया शिविरमा ह्याबिट्याट फर ह्युमिनिटीको सहकार्यमा नगरपालिकाले बनाइदिएको घर नै उनीहरूको आधार हो ।
परिवारको आर्थिक अवस्था कमजोर छ । नियमित आम्दानीको भरपर्दो स्रोत छैन । जेठो छोरा रोजगारीका लागि भारतमा छन् । उनले कमाएर पठाएको रकमले घरखर्च चलाउनमै सीमित हुने गरेको रामजानकी बताउनुहुन्छ ।
“जेठो छोरा भारतमा कमाउँछ । उसले पठाएको पैसाले घरखर्च चलाउनै पुग्दैन । त्यही पैसाले छोराको उपचार कसरी गर्ने ?” उहाँले भन्नुभयो ।
घरमा खानेकुरा जुटाउनेदेखि दैनिक आवश्यकतासम्मको खर्च त्यही सीमित आम्दानीबाट धान्नुपर्छ । बिरामी छोराको उपचारका लागि भने छुट्टै ठूलो रकम आवश्यक पर्छ । त्यसैले परिवारका लागि उपचार निरन्तर गराउनु ठूलो बोझ बनेको छ ।
परिवारका अनुसार छोरालाई जन्मेको १० दिन देखि नै स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि उपचार सुरु गरिएको थियो । करिब ११ वर्षसम्म औषधि उपचार गराए । आफ्नो क्षमताले भ्याएसम्म अस्पताल धाए । उपचारका क्रममा परिवारले करिब रु दुई लाख ८० हजार खर्च गरेको जनाएको छ । तर आर्थिक अवस्था कमजोर हुँदै गएपछि करिब चार–पाँच वर्षदेखि नियमित उपचार रोकिएको छ ।
चिकित्सकले रगतमा समस्या रहेको र रगत परिवर्तन गर्नुपर्ने बताएको परिवारको भनाइ छ । उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि आर्थिक अभावमा उपचार निरन्तर गर्न नसकिएको रामजानकी बताउनुहुन्छ ।
“डाक्टरले रगत खराब भएको र रगत परिवर्तन गर्नुपर्ने भनेका छन् । उपचारका लागि धेरै पैसा लाग्छ । पैसा नभएपछि उपचार रोक्नुप¥यो,” उहाँले भन्नुभयो ।
छोराको उपचारका लागि पैसा जुटाउन नसक्दाको पीडा रामजानकीको अनुहारमा देखिन्छ । छोरालाई अस्पताल लैजान पाए, उपचार गराउन पाए र रोग नियन्त्रणमा आए उसको जीवन फेरि सामान्य बन्न सक्ने आशा उहाँले छाड्नुभएको छैन ।
तर अहिले घरको अवस्था यस्तो छ कि दैनिक गुजारा चलाउनकै लागि संघर्ष गर्नुपर्छ । त्यसमाथि उपचारको खर्च थपिँदा परिवार थप समस्यामा परेको छ ।
रामजानकीका लागि सबैभन्दा पीडादायी क्षण भने छोराले आफ्नो मृत्युको डर व्यक्त गर्ने समय हो ।
“ममी, म त मरिहाल्छु कि के हो ,” छोराले भन्ने गरेको सम्झँदा उहाँ भावुक बन्नुहुन्छ ।
“त्यो कुरा सुन्दा मेरो मन थामिँदैन । म आमा हुँ । आफ्नो बच्चालाई यस्तो अवस्थामा कसरी हेर्न सक्छु ? पैसा भएको भए उपचार गराउँथेँ,” उहाँले आँसु पुछ्दै भन्नुभयो ।
सहयोगको पर्खाइमा परिवार
रामजानकीका लागि अहिले छोराको उपचार नै सबैभन्दा ठूलो प्राथमिकता हो । विगतमा आफ्नो क्षमताले भ्याएसम्म उपचार गराए पनि आर्थिक अभावका कारण रोकिएको उपचार पुनः सुरु गर्न सकिने आशामा उहाँ हुनुहुन्छ ।
मेरो छोरा बचाउनका लागी सकेजति सहयोग गरिदिनुहोस, रामजानकी भन्नुहुन्छ । मुक्तकमैया शिविरको यो परिवारका लागि गरिबी केवल आम्दानीको अभाव मात्र होइन, बिरामी सन्तानको उपचार गर्न नसक्दाको विवशता पनि बनेको छ । घरमा नियमित आम्दानी छैन । आफ्नै जमिन छैन । दैनिक जीवनका सामान्य आवश्यकता पूरा गर्नसमेत कठिन छ । यस्तो अवस्थामा लामो समयसम्म चल्ने उपचारको खर्च परिवारको क्षमताभन्दा बाहिर पुगेको छ ।
तर रामजानकीको आशा भने मरेको छैन । छोराको शरीरमा पीडा छ, तर उसको मनमा भविष्यप्रतिको चाहना बाँकी छ । आमाको आँखामा आँसु छन्, तर छोरालाई स्वस्थ बनाउने विश्वास अझै जीवित छ ।
यसैबीच, बिरामी बालकको अवस्थाबारे जानकारी पाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मंगलवार रामजानकीलाई टेलिफोन गरी छोराको उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मुख्यमन्त्री भट्टले उपचारका लागि आवश्यक सहयोगमा पहल गर्ने आश्वासन दिएपछि लामो समयदेखि उपचारको पर्खाइमा रहेको परिवारमा केही आशा पलाएको छ ।
“मुख्यमन्त्रीले फोन गरेर सहयोग गर्छु भन्नुभएको छ । मेरो छोराको उपचार भएर ऊ पनि अरू बच्चाजस्तै बाँच्न पाओस्,” रामजानकीले भन्नुभयो ।

ताजा खबर

The Ultimate Guide to Newest Casino Daily Deals

The Ultimate Guide to Finding the Highest No Deposit Bonus

Highest Possible Payment Online Gambling Enterprises: A Comprehensive Overview

Online Casino Ideal Payouts: Your Guide to Winning Large

सम्बन्धितखवर

छुटाउनु भयो कि !