धनगढी /आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचार संहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

धनगढीमा आयोजित निर्वाचन आचार संहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रमका सहभागीहरूले आचार संहिता उल्लंघनका घटना बढ्दै गएकाले यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका हुन् ।

निर्वाचन आयोगले बनाएको आचार संहिता व्यवहारमा पूर्ण रूपमा लागू हुन नसक्दा मतदातामा नकारात्मक असर परेको सरोकारवालाले उल्लेख गरेका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आचार संहिता पालना नगर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठ्न थालेको सरोकारवालाहरूको भनाइ छ ।
निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले मतदातालाई आर्थिक प्रलोभनमा पार्ने, प्रतिस्पर्धी उम्मेदवारविरुद्ध गलत टिप्पणी गर्ने तथा डर, धाकधम्की जस्ता अमर्यादित गतिविधि बढ्दै गएकोप्रति अधिवक्ता हरिकृष्ण पाण्डेले चिन्ता व्याक्त गर्नुभयो । यस्तै निर्वाचन आचार संहिता उलगंनका गतिविधिले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न थप चुनौती सिर्जना गरेकोले छ , यसका साथै सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग बढेकाले सम्बन्धित निकायले निगरानी र कारबाहीलाई कडा बनाउनुपर्नेमा महिला अधिकारकर्मी गोमा आचार्यको भनाई छ ।
कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी तुलाधरले निर्वाचन आयोग शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्रिय रहेको बताए । उनले आचार संहिता विपरीत गतिविधि भएमा उजुरी दिन सकिने व्यवस्था रहेको उल्लेख गर्दै उल्लंघन पुष्टि भए कानुनी कारबाही अघि बढाइने स्पष्ट परिन् । निर्वाचन केवल आयोगको मात्र जिम्मेवारी नभई राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
निर्वाचन आचार संहिता कडाइका साथ कार्यान्वयन नगरेसम्म शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव नभएकोले निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा नागरिक समाजले निर्वाचन आचार संहिताको पालना गर्नुपर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले धारणा ब्याक्त गरे ।
निर्वाचन संग सरोकारवालाहरुको सहभमगिता रहेको कार्यक्रममा नेपाल सरकारका पूर्व कानुन सचिव फणिन्द्र गौतम, निर्वाचन आयोगका उपसचिव विष्णुप्रसाद पौडेल र निर्वाचन आयोगका सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेमराज भट्टाले निर्वाचन आचारसंहतिा सम्बन्धि प्रस्तुती राखेका थिए ।






