धनगढी /थारू समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको सखिया नाच दशैंको अवसरमा कैलालीको धनगढीमा विशेष रूपमा प्रदर्शन गरिएको छ।

थारू समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले दशैं विशेष सामूहिक सखिया नाच प्रदर्शनी–२०८३ आयोजना गरिएको हो।

दशैं विशेष सामूहिक सखिया नाच प्रदर्शनी–२०८३ मूल आयोजक समितिकी संयोजक सानू चौधरीले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न तथा सखिया नाचको संरक्षण र प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।
उनका अनुसार कृष्णलीला तथा महाभारतका कथावस्तुमा आधारित गीतमा युवतीहरूले सामूहिक रूपमा गायन गर्ने र युवाहरूले मादलको तालमा साथ दिने सखिया नाच थारू समुदायको मौलिक पहिचान, धार्मिक आस्था, कला, भाषा, परम्परा र सामाजिक एकताको महत्वपूर्ण प्रतीक हो।
परम्परागत रूपमा अष्टिम्की पर्वदेखि सुरु भएर दशैं हुँदै दीपावलीसम्म करिब एक महिनासम्म गाउँघरमा सखिया नाच प्रदर्शन गर्ने चलन रहेको छ। तर पछिल्लो समय शिक्षा, रोजगारी, वैदेशिक पलायन तथा बदलिँदो सामाजिक परिवेशका कारण यो परम्परा छोटिँदै र सीमित हुँदै गएको आयोजकले जनाएको छ।
सखिया नाचको परम्परा क्रमशः सीमित हुँदै गएपछि मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने, युवायुवतीलाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने तथा यसको संरक्षण र पुस्तान्तरणका लागि सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले एकदिने विशेष कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।










