TRENDING
Next
Prev

घोडाघोडी सिमसार क्षेत्रमा : हरिहाँसको सङ्ख्या बढ्यो

शेयेर गर्नुहोस

सुखड/नेपालको पहिलो चरा अभय आरण्य घोडाघोडी सिमसार क्षेत्रमा यस बर्ष हरिहाँसको सङ्ख्या बढेको छ भने जलपन्छीको संख्या घटेको छ। चरा संरक्षण नेटवर्क कैलालीको टोलीले घोडाघोडी क्षेत्रमा यही पुस १९ देखि २१ गतेसम्म जलपन्छी गणना सम्पन्न गरेको थियो।

कार्यक्रमका क्रममा घोडाघोडीको सूचक प्रजाति हरिहाँसको सङ्ख्या बढेको चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले जानकारी दिए। उनका अनुसार सन् २०२२ मा हरिहाँस ३९४ रहेकोमा सन् २०२३ मा ३१६, सन् २०२४ मा ४११, सन् २०२५ मा ३७२ र यस वर्ष ४२९ पुगेको छ।

तर जलपन्छीको सङ्ख्या भने घटेको छ। सन् २०२२ मा १ हजार ६८५ रहेको जलपन्छी सन् २०२३ मा १ हजार २२१, सन् २०२४ मा १ हजार ४३७, सन् २०२५ मा १ हजार ३१६ र यस वर्ष १ हजार १६८ मा सीमित भएको चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले स्पष्ट पारे।

कैलाली जिल्लामा सबैभन्दा धेरै तालतलैया रहेका छन् र घोडाघोडी ताल तराई क्षेत्रको सबैभन्दा ठूलो प्राकृतिक ताल मानिन्छ। घोडाघोडी तालसहित २४ वटा तालहरू क्षेत्रका चराहरूको मुख्य बासस्थान हुन्।

चौधरीका अनुसार पहिले दुई हजार २०० हाराहारी जलपन्छी रहेको घोडाघोडी क्षेत्रमा अहिले सङ्ख्या करिब १ हजार १०० मा घटेको छ। “बच्चा हुर्काउने सुरक्षित स्थान असुरक्षित बन्दै जानु, आहार घट्नु र प्रतिकूल मौसमले जलपन्छी सङ्ख्या घटाउने मुख्य कारण हुन्,” उनले बताए।

सुदूरपश्चिम प्रदेश सरकारले २०७८ फागुन २७ मा घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो ‘चरा अभय आरण्य’ घोषणा गरेको थियो। यो क्षेत्र रैथाने र आगन्तुक दुबै प्रकारका चराहरूको लागि महत्वपूर्ण बासस्थान मानिन्छ र यहाँ ३८१ प्रजातिका चरा पाइन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !