धनगढी /गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी मुद्दा फर्स्योट गर्ने जिल्ला न्यायाधीशमध्ये कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारी देशकै पहिलो भएका छन्।

सर्वोच्च अदालतको तथ्यांकअनुसार न्यायाधीश भण्डारीको इजलासले एक आर्थिक वर्षमा देवानी र फौजदारी गरी १ हजार ११ वटा मुद्दा फर्स्योट गरेको छ। सो उपलब्धिसँगै उनी देशभरका जिल्ला अदालतका न्यायाधीशमध्ये सबैभन्दा बढी मुद्दा फर्स्योट गर्ने न्यायाधीश बनेका हुन्।
सर्वोच्च अदालतका अनुसार ७७ जिल्ला अदालतमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना जिल्ला न्यायाधीशको सूचीमा न्यायाधीश भण्डारी शीर्ष स्थानमा रहेका छन्।
पछिल्ला दुई वर्षदेखि कञ्चनपुर जिल्ला अदालतको नेतृत्व गरिरहेका न्यायाधीश भण्डारीले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरका मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरेका थिए। न्याय परिषद्ले चालु आर्थिक वर्षदेखि न्यायाधीश भण्डारीलाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरेको छ।
मुद्दा फर्स्योटमा पर्सा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरे ९८४ मुद्दासहित दोस्रो तथा पाल्पा जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा ९७९ मुद्दासहित तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी, धनुषा जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतम र गोरखा जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतमले समान ८७९ मुद्दा फर्स्योट गरेका छन्।
अन्य उत्कृष्ट कार्यसम्पादन गर्ने न्यायाधीशमा इलामका रोशन गजुरेल (८२९), रौतहटका मनोज केसी (८२७), मोरङका दुर्गाबहादुर भुसाल (८२१), धनुषाका मनोजकुमार श्रीवास्तव (८१८), कैलालीका भुवनसिंह थापा (८१५), रौतहटका पुण्यप्रसाद सापकोटा (८०६) र सर्लाहीका जीवनकुमार भण्डारी (८०२) रहेका छन्।
उच्च अदालततर्फ भने उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरको नेतृत्वमा रहेको इजलासले १ हजार ४२१ मुद्दा फर्स्योट गर्दै पहिलो स्थान हासिल गरेको सर्वोच्च अदालतको तथ्यांकमा उल्लेख छ। त्यसपछि पाटन इजलासका न्यायाधीश टीकाराम आचार्य (१,२२९), बुटवल इजलासका न्यायाधीश जगतबहादुर थापा (१,१६९) र तुलसीपुर इजलासका न्यायाधीश सोमकान्त मैनाली (१,०५९) उत्कृष्ट फर्स्योट गर्ने न्यायाधीशको सूचीमा रहेका छन्।








