धनगढी । कैलाली भन्सार कार्यालयमा शनिबार सरसफाइ गरिएको छ । सुदूरपश्चिम मोबाइल व्यवसायी संघले ‘१२० मिनेटको श्रमदान,नयाँ नेपालको निमार्ण’ भन्ने मूल नाराका साथ भन्सार कार्यालयको सरसफाइ गरेको हो ।

दैनिक कामकाजमा आवश्यक पर्ने कम्प्युटर, ल्यापटप, फर्निचर लगायतका आवश्यक सामग्रीहरु सहयोग गर्ने पनि संघका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । उनले सम्पूर्ण धनगढीबासीहरुलाई उक्त कार्यमा सहयोग गर्न अनुरोध गरे ।
लगत भदौ २४ गते जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा भन्सार कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । हाल भन्सार कार्यालयमा कामकाज ठप्प रहेको कार्यालयले जनाएको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय कैलालीमा सरसफाइ गरिएको छ । जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सरसफाइ थालिएको हो । सशस्त्र प्रहरी र जेन–जी पुस्ताले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, कैलालीको पर्खाल र भवन सरसफाइ गरेका छन् ।
उनीहरूले प्रशासनको प्रवेश द्वारमा लेखिएका नारासमेत मेटाएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धका नाराहरूसमेत जेन–जी पुस्ताहरूले नै मेटाएका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीमा सेवा सुचारुका लागि सरसफाइ थालिएको हो ।







