सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नुभएको छ।

उहाँले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कैलाली क्षेत्र नम्बर २, लम्किचुहा नगरपालिका-१ को कालिका माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर दिउँसो ३ बजेर २५ मिनेटमा मतदान गर्नुभएको हो।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार मुख्यमन्त्री शाहको मतदाता क्रमसंख्या ७५३ रहेको छ।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने क्रममा रहेको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले निर्वाचनलाई सफल बनाउन खटिनुभएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय तथा आम मतदाताहरूलाई शुभकामना तथा धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी, भ्रष्टाचार न्यूनीकरण र सुशासनको माग गर्दै भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण शहीदप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभयो।
मुख्यमन्त्री शाहले शहीदहरूको रगत र बलिदानअनुसार देशमा लोकतन्त्रको स्थायित्व कायम हुने, संविधानको प्रभावकारी कार्यान्वयन हुने तथा लोकतान्त्रिक प्रणाली अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो।






