धनगढी /गिद्धले सिनो खाएर वातावरण प्रदूषण हुनबाट जोगाउनुका साथै विभिन्न सङ्क्रामक तथा जुनोटिक रोग फैलिनबाट रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाले बताएका छन्।

धनगढीमा बिहीबार आयोजित ‘गिद्धका लागि सुरक्षित आहारा’ विषयक प्रदेशस्तरीय कार्यशालामा सहभागीले गिद्धको संरक्षणसँगै सुरक्षित आहार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका हुन्।
नेपाल पन्छी संरक्षण संघ (बीसीएन) का परियोजना फिल्ड अधिकृत तथा चराविद् हिरुलाल डङ्गौराका अनुसार एउटा गिद्धले आफ्नो जीवनकालमा करिब ११ हजार अमेरिकी डलर बराबरको फोहोर सफा गर्ने गरेको अध्ययनले देखाएको छ। पछिल्लो समय केही गौशालाले गिद्धलाई प्रत्यक्ष रूपमा आहारा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो।
नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन्। तीमध्ये सुन, सानो खैरो, डङ्गर, सेतो, हाडफोर र हिमाली गिद्ध रैथाने हुन् भने राज, खैरो र लामोथुँडे गिद्ध बसाइँसराइ गरेर आउने गर्छन्।
कार्यशालामा बीसीएनका पशुचिकित्सक डा. विकल पाण्डेयले डाइक्लोफेनेक गिद्ध मृत्युको प्रमुख कारणमध्ये एक रहेको बताउनुभयो। नेपालमा २०६३ जेठ २३ गतेदेखि यसको बिक्री, वितरण र प्रयोगमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले गिद्धलाई ‘अछुत पन्छी’ का रूपमा हेर्न नहुने बताउँदै यसको प्राकृतिक बासस्थान संरक्षणमा जोड दिनुभयो। उहाँका अनुसार गिद्धले सिनो खाएर वातावरण स्वच्छ राख्नुका साथै पारिस्थितिकीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
डार्बिन इनिसिएटिभको आर्थिक सहयोग, रोयल सोसाइटी फर प्रोटेक्सन अफ बर्ड्सको अगुवाइ तथा बीसीएनको कार्यान्वयनमा सञ्चालित ‘गिद्ध, गाई र मानिस–एक प्राचीन सम्बन्ध सुदृढ गर्ने’ परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।









