धनगढी/ कैलालीमा मान्छेको ज्यान लिएको नरभक्षी बाघको गतिविधि गाउँतिर बढेको छ । केही दिनअघि मात्रै गौरीगङ्गा नगरपालिका–६ स्थित भैरव सामुदायिक वनमा सोही वडाको चरीडाँडाका ४० वर्षीय कृष्ण चौधरीको ज्यान लिएको बाघले गाउँनजिक घुमफिर गरिरहेको देखिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार गौरीगङ्गाको सामुदायिक वनमा मान्छे मारेको बाघ धनगढी उपमहानगरपालिका–१७, १६, १५ मा रहेका विभिन्न सामुदायिक वन र भारताल साझेदारी वनक्षेत्रमा घुमफिर गरिरहेको देखिएको हो ।

बाघ गाउँआसपास हिँड्न थालेकाले उच्च सुरक्षा सतर्कता अपनाउन र वनक्षेत्रमा नजान डिभिजन वन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ । बाघले मान्छेको ज्यान लिएपछि त्यसको खोजीकार्य र गतिविधिको निगरानी जारी राखिएको छ । मान्छे मारेको सामुदायिक वनबाट बाघ सरेर धनगढी उपमहानगरपालिका–१७ को दमौलिया, धुरझन्नातर्फ घुमफिर गरेको वनकर्मीको टोलीले तथ्य फेला पारेको छ।

गत साता मात्रै धुरझन्ना गाउँनजिकको सिद्धबाबा सामुदायिक वनमा बाघको ताजा पदचिह्न भेटिएको डिभिजन वन कार्यालय धनगढी कैलालीका वन अधिकृत रामऔतार चौधरीले जानकारी दिए । उनले केही स्थानीयले बाघलाई धनगढी उपमहानगरपालिका–१६ मा रहेको बेहडाबाबा मन्दिरनजिक देखेको उल्लेख गरे ।
यो मन्दिरनजिक रामपुरगाउँ रहेको छ । चौधरीका अनुसार बाघ भारताल साझेदारी वनक्षेत्रमा पनि गाउँनजिकै घुमिरहेकाले उच्च सतर्कता अपनाउन आवश्यक छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशी भन्छ्न , “जङ्गलमा जनावर खाएर बाँच्ने नरभक्षी बाघले पुनः मान्छे मार्ने सम्भावना हुन्छ । बाघ बुढो, कमजोर, समस्याग्रस्त वा नरभक्षी भएपछि बस्तीनजिक आउने गर्छ । त्यसैले सबैले सतर्कता अपनाउनु जरुरी छ
नरभक्षी बाघ गाउँआसपास ओहोरदोहोर गर्न थाले पनि मान्छे जङ्गल पस्ने क्रम भने रोकिएको छैन । च्याउ खोज्न, दाउरा, पात, घाँसका लागि मान्छे दिनहुँ जङ्गल पसिरहेका छन् । कैलारी गाउँपालिका–६, गदरियाका अनिल चौधरीले मोया घटनापछि एकरदुई दिन मान्छे वन पस्न अलि कम भए पनि अहिले फेरि जान थालेको बताए । वन अधिकृत चौधरीले कैलारी गाउँपालिका–४, ‘के’ गाउँमा रहेका सामुदायिक वन हुँदै बाघले भारताल वनसम्म ओहोरदोहोर गर्ने गरेको जानकारी दिए ।
गत जेठमा मात्रै कैलारी गाउँपालिका–४, ‘के’ गाउँस्थित हरियाली महिला सामुदायिक वन, सयपत्री सामुदायिक वन र वडा नं। ६ को भगतपुरस्थित मिलन सामुदायिक वनक्षेत्रमा बाघ देखिएको थियो । नरभक्षी बाघ खोज्नका लागि वनकर्मी र एनटिएनसीको प्राविधिक टोली परिचालित छ । दुई दिनसम्म ड्रोन क्यामराको सहायताले बाघको खोजी गरिएको तर फेला नपरेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । बाघको गतिविधि निगरानीका लागि विभिन्न वनमा स्वचालित क्यामरा जडान गरिएको छ ।









