सुखड/ ‘वन कर्मचारीको शान, खेलकुदबाट स्वास्थ्य र सम्मान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय वन कर्मचारी ब्याडमिन्टन प्रतियोगितामा डिभिजन वन कार्यालय पहलमानपुरको टिम प्रथम भएको छ।

विजया दशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा सब–डिभिजन वन कार्यालय सुखडले आयोजना गरेको प्रतियोगितामा पहलमानपुरका वन अधिकृत पूर्ण बिष्ट र वनरक्षक निर्प साउदको जोडी प्रथम भएको हो।
प्रतियोगितामा आयोजक सब–डिभिजन वन कार्यालय सुखडका रेञ्जर वीरेन्द्र मल्ल र बसन्ता वन सहजकर्ता ज्ञानु चौधरीको जोडी द्वितीय भयो। सब–डिभिजन वन कार्यालय पचमुडियाका वनरक्षक जागिराम थारु र वनरक्षक सुशील चौधरीको जोडी तृतीय हुँदा डिभिजन वन कार्यालयका वन अधिकृत गणेश ठगुन्ना र केशव बोहराको जोडी सान्त्वना भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा वन कर्मचारीका १६ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा वीरेन्द्र मल्ल उत्कृष्ट खेलाडी तथा निर्प साउद उदयमान खेलाडी घोषित भए।
प्रतियोगिताका निर्णायक घोडाघोडी ब्याडमिन्टन क्लबका अध्यक्ष मनोज सुनार र घोडाघोडी नगरपालिका कृषि सहायक गणेशबहादुर शाही रहेका थिए। टिम प्रशिक्षण सब–डिभिजन वन कार्यालय सुखडका प्रमुख वरिष्ठ वन अधिकृत सोमलाल घलानले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी राजु निमेलले सम्हालेका थिए।
प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुने टिमलाई ६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टले वन कर्मचारीहरूलाई कामसँगै खेलकुदमा जोड्दा स्वास्थ्यसँगै आपसी समन्वय र सद्भाव बढ्ने बताए। खेलकुदले कर्मचारीमा सकारात्मक ऊर्जा थप्ने र कामप्रति थप उत्साह पैदा गर्ने उनको भनाइ थियो।
वन कर्मचारीहरू प्रहरीजस्तै २४ घण्टा सेवामा खटिनुपर्ने भएकाले यस्ता कार्यक्रमले उनीहरूलाई काममा थप ऊर्जा प्रदान गर्ने निर्देशक बिष्टले बताए। खेलकुदले व्यक्तिको स्वास्थ्य सुधारसँगै आपसी सद्भाव, प्रेम र आत्मीयता बढाउन सहयोग गर्ने उनले उल्लेख गरे।
समापन कार्यक्रममा बिशिस्ट अतिथिको आसन बाट बोल्दै डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्यायले खेलकुद वन कर्मचारीका लागि मात्र नभई सबैका लागि आवश्यक रहेको बताए। यस्ता कार्यक्रमले कार्यालयमा सकारात्मक ऊर्जा ल्याउनुका साथै सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने बताए








