सुखड/कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ३३ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने नाराका वडामा अभियान मनाइएको हो । नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा विभिन्न सघ संस्थाहरूको समन्वयमा कार्यक्रम गरीएको हो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोग दशरथ माध्यामिक विद्यालयहरूमा गठन गरिएका बाल अधिकार चेतना समूहले बाल विवाह, घरेलु हिंसा र दाइजो प्रथा सम्बन्धीको सचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँद र सिएमसी नेपालका प्रतिनिधि सुशीला चौधरीले घरेलु हिंसा, मानसिक समस्या, स्वरूप, प्रकार र कानुनी कुराको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
लैङ्गिक हिंसा अन्त्यका लागि अभियान अन्तर्गत १६ दिनसम्म विविध जागरण र जनचेतना मूलक कार्यक्रम गरेर मनाई रहेको महिला तथा बालबालिका शाखाले जनाएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मूलक कार्यक्रम गरी विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान मनाउने गरिन्छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, भलमन्सा, जनप्रतिनिधि,मानवअधिकार समूहका सदस्यहरू, बाल अधिकार चेतना समूहका पदाधिकारी लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।