धनगढी/कालगति तथा अकालगतिमा ज्यान गुमाएका धनगढीबासीको दिवंगत आत्माको शान्ति र सम्झनामा शनिबार धनगढीको पार्कमोडमा महादिप प्रज्वलन गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का तीन दाजुभाई मिलेर स्थापना गरिएको एमएसएन ग्रुपको आयोजनामा दिवंगत आत्माको शान्ति तथा सम्झनामा महादीप प्रज्वलन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम पूर्वभौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले दिवंगत आत्माको शान्तिको कामना गर्दै महादीप प्रज्वलनको सुरुवात गरे । दीप प्रज्वलन कार्यक्रममा त्यहाँ उपस्थिति सबै दिवंगत आत्माको शान्तिका कामना गर्दै दीप प्रज्वलन कार्यमा स्वस्फूर्त सहभागी भए ।
विभिन्न सामाजिक कार्य गर्ने उद्धेश्यसहित स्थापना गरिएको एमएसएन ग्रुपले चार वर्षदेखि दीप प्रज्वलन कार्यक्रम गर्दै आएको ग्रुपका सदस्य नरेन्द्र शाहले बताए ।
ग्रुपले गरेको महादीप प्रज्वलन कार्यक्रमलाई धनगढीको निसर्ग अस्पतालले सुरुवातदेखि नै सौजन्य गर्दै आएको छ । महादीप प्रज्वलन कार्यक्रमसहित ग्रुपले रक्तदान, वृक्षारोपणलगायत विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।