टीकापुर/कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठले टीकापुरमा सामाजिक सद्भाव कायम रहेको बताएकी छन् । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को एक समारोहका बिच उद्घाटन गर्दै श्रेष्ठले सो कुरा बताएकी हुन् ।

‘खड्गबहादुर सिंहले स्थापना गरेको, थोमम बर्गिस गुरुको शिक्षा प्राप्त, मदन पुरस्कार विजेता महेशविक्रम शाह र रेशम चौधरीलाई जन्माउने यो माटो सधै सद्भाव चाहन्छ’ श्रेष्ठले भनिन् ‘टीकापुरमा हिजो पनि सद्भाव थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’ २०७२ सालको टीकापुर घटना राजनीतिक घटना भएको बताउँदै उनले यसको उचित निकासका लागि आफूहरु लागि परेको बताइन् ।

संघले राखेको मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस क्षेत्रको विकास निर्माणमा एकजुट भएर लाग्न समेत उनले आग्रह गरिन् ।
महोत्सवका प्रमुख अतिथि एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष समेत रहेकी श्रेष्ठसमक्ष टीकापुर उद्योग वाणिज्य संघले ८ बुँदे माग राखेको छ ।
यस्ता छन् मागहरु :
१) टीकापुरस्थित हवाई मैदान यथाशक्य सञ्चालन ।
२) सत्ती भन्सार कार्यालयमा क्वारेन्टाईनको स्थापना ।
३) केराको पकेट क्षेत्र स्थापना ।
४) कर्णाली नदी व्यवस्थापन ।
५) नेपाल आयल निगमको डिपो कार्यालय स्थापना ।
६) यातायात कार्यालय स्थापना ।
७) चिसापानी–कुईने–जंगलघाट सडक कालोपत्रे ।
८) टीकापुरमा औद्योगिक क्षेत्र स्थापना ।