चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको जोड

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /चाडपर्वको समयमा बजारमा हुन सक्ने मूल्यवृद्धि, म्याद गुज्रिएका वस्तुको बिक्री तथा कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सम्पन्न सरोकारवाला निकाय तथा व्यवसायीसँगको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले उपभोक्ताको अधिकार संरक्षणसँगै व्यवसायीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका हुन्।


कार्यक्रमका प्रमुख अतिथि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले अन्तरक्रियामा उठेका विषयलाई वास्तविकताका आधारमा बुझेर अनुगमन गर्नुपर्ने बताए। उनले प्रहरी प्रशासनको उद्देश्य व्यवसायीलाई सधैँ कारबाही गर्नु नभएको स्पष्ट गर्दै पहिलो चरणमा व्यवसायीलाई सम्झाउने, व्यवसाय दर्ता गर्न तथा हिसाब–किताब व्यवस्थित राख्न सिकाउने काम गरिँदै आएको बताए।


उनले नियमित बजार अनुगमन भइरहेकाले व्यवसायीले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए। चाडपर्वका बेला म्याद गुज्रिएका वस्तु बिक्री गर्ने, मूल्य बढाउने तथा सामान लुकाएर कालोबजारी गर्ने कार्य नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो।


खत्रीले सीमाबाट ल्याइने तथा पठाइने सामानको कारोबार गर्दा आवश्यक बिल–बिजक राख्न व्यवसायीलाई आग्रह गरे। उपभोक्तासँग प्रहरी प्रशासनले नम्र व्यवहार गर्नुपर्ने उल्लेख गर्दै उनले अरूले गलत गरेभन्दा पनि आफूले आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्टले नागरिक सेवा प्रवाह गर्ने निकाय र नागरिक स्वयं ग्राहक तथा सेवाग्राहीको भूमिकामा रहने बताए। कानुनको पालना सबै पक्षले गर्नुपर्ने भन्दै उनले कानुन उल्लङ्घन भए कारबाही र समस्या परे सुनुवाइ हुने स्थानसम्म पुग्ने व्यवस्था आवश्यक रहेको बताए।


राज्य समृद्ध हुन जनता समृद्ध हुनुपर्ने उल्लेख गर्दै भट्टले निजी क्षेत्रलाई पनि आफ्नो ठाउँबाट अघि बढाउनुपर्ने बताए। ‘सरकारतिर मात्र हेर्ने होइन, आफूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ,’ उनले भने।
उनले नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार संरक्षणसँगै नागरिकका कर्तव्य पनि पूरा हुनुपर्ने बताए। बजारमा मूल्यवृद्धि वा अन्य समस्या आउँदा नागरिकले पनि खबरदारी गर्नुपर्ने उनको भनाइ थियो। ‘नागरिक नै सबैभन्दा ठूलो बजारका सहभागी हुन्, नागरिक नै सरकार र नागरिक नै सुरक्षाकर्मीको भूमिकामा पनि छन्,’ उनले बताए।

राजस्व कार्यालय कैलालीका प्रमुख भीम काफ्लेले व्यवसायीलाई करसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए। कारोबारमा देखिने जोखिम न्यूनीकरणका लागि करदाता शिक्षा, नियमित अनुगमन तथा खातापाता व्यवस्थित गर्न आवश्यक रहेको उनको भनाइ थियो।


कानुनी प्रक्रिया नबुझ्दा व्यवसायीले समस्या भोग्ने गरेको उल्लेख गर्दै काफ्लेले कर कार्यालयसँग डराउनुपर्ने अवस्था नरहेको बताए। व्यवसायलाई कानुनी र व्यवस्थित ढंगले सञ्चालन गर्न करसम्बन्धी जानकारी लिन उनले व्यवसायीलाई आग्रह गरे।


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अधिकृत कृष्णबहादुर विकले चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए। चाडपर्वमा मात्रै मूल्य बढाउने, म्याद गुज्रिएका सामग्री बिक्री गर्ने लगायतका समस्या देखिने गरेको भन्दै उनले सम्बन्धित निकायले नियमित र प्रभावकारी अनुगमन गर्नुपर्ने बताए।


उनले चाडपर्वमा बजार अनुगमन गर्ने कार्य कतिपय अवस्थामा औपचारिकतामा सीमित हुने गरेको गुनासो गर्दै बजारको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यसँग रहेकाले अनुगमनलाई गम्भीर रूपमा लिनुपर्ने बताए। उपभोक्ताले पनि आफ्नो अधिकारका लागि खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
होलसेल व्यवसायी कोपिला कुँवरले थोक व्यवसायमा पारदर्शिता कायम गर्न व्यावहारिक कठिनाइ रहेको बताइन्। भन्सार प्रक्रिया तथा सामान ओसारपसारका क्रममा व्यवसायीले झन्झट बेहोर्नुपरेको उनको गुनासो थियो। व्यवसायीले राजस्व तिरेर नियमपूर्वक सामान ल्याउँदा तथा ग्राहकलाई पठाउँदा पनि विभिन्न समस्या खेप्नुपरेको उनले बताइन्।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले चाडपर्वको समयमा उपभोक्ताको अधिकार संरक्षणसँगै व्यवसायीलाई सहज वातावरण निर्माण गर्नुपर्ने बताए। समस्या आएपछि मात्र सक्रिय हुनेभन्दा समस्या आउन नदिनेतर्फ सम्बन्धित निकाय र व्यवसायी दुवैले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमको सञ्चालन कैलाली उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत दिनेश ओझाले गरेका थिए। कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !